धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको सिन्धुली जोड्ने पुल खोलाले बगायो

धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको सिन्धुली जोड्ने पुल खोलाले बगायो

सिन्धुली, ५ साउन । धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको मकवानपुर र सिन्धुलीको सीमानामा निर्माणाधीन पुलमा बाढीले क्षति पु-याएको छ । बागमती खोलामा आएको बाढीका कारण निर्माणाधीन पुलको टेको बगाउँदा एउटा स्ल्याब बगाउनुका साथै एउटामा क्षति पुगेको छ ।
बाढीका कारण निर्माणाधीन पुलमा करिब ६५ लाख रूपैयाँ बराबरको क्षति भएको धरान–चतरा–हेटौंडा सडक आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता एवम् इञ्जिनियर केशव ओझाले पुलमा रहने ११ वटा स्ल्याबमध्ये एउटा बगाएको र एउटामा सामान्य क्षति पुगेको बताए । करिब २२ करोड रूपैयाँको ठेक्कामा स्वच्छन्द निर्माण सेवा कम्पनीले पुल निर्माण गरिरहेको छ । चार सय पाँच मिटर लामो पुल २०७७ साल जेठसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

बाढी पहिरोका कारण निर्माणाधीन सडक खण्डको अन्य भागमा पनि क्षति पुगेको छ । पहिरो गएको स्थानमा पन्छाउने काम सुरु भइसकेको आयोजनाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा निर्माण भइरहेको धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
सडकको पश्चिम खण्डअन्तर्गत सिन्धुलीदेखि मकवानपुरसम्मको खण्डमा ३३ वटा पुल निर्माण गर्नुपर्नेमा त्यसको काम छुट्टै ठेक्कामार्फत भइरहेको छ । पूर्वी खण्डतर्फ ४६ वटा पुल निर्माणको काम पनि धमाधम भइरहेको आयोजनाले जनाएको छ । कुल ३ सय १७ किलोमिटर रहेको सडकको पश्चिमी खण्डमा सिन्धुलीमा एक सय ४० र मकवानपुरमा ४९ किलोमिटर रहेको छ । पूर्वी खण्डमा उदयपुरमा एकसय १० किमी र सुनसरीमा १८ किलोमिटर पर्छ ।
आयोजनाका प्रवक्ता ओझाका अनुसार पुल निर्माणतर्फ ७५ प्रतिशत र सडकतर्फ ५५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । आयोजनाको सडक निर्माणको काम सम्पन्न भएपछि सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्दै पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको काम गर्ने बताइएको छ ।
करिब २२ अर्बको लागतमा निर्माण हुन लागेको सामरिक महत्वको सडक योजना हेटौंडाबाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुनर उपत्यकालाई यातायात सञ्जालमा जोड्दै धरान पुगेर टुंगिनेछ । सडक विस्तारपछि आसपास क्षेत्रको आर्थिक, सामाजिकलगायत गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्