विराटनगरको नोवेल अस्पतालमा मृत्यु प्रकरण : मृतकका आफन्तकाे आन्दाेलन बार्गेनिङमा अड्कियो

विराटनगरको नोवेल अस्पतालमा मृत्यु प्रकरण : मृतकका आफन्तकाे आन्दाेलन बार्गेनिङमा अड्कियो

किशोर बुढाथोकी/हिमाल दाहाल

विराटनगर, ७ साउन । विराटनगरको नोवेल शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गरिएका बिरामीको मृत्यु प्रकरण क्षतिपुर्तिको बार्गेनिङमा पुगेर अल्झिएको छ ।क्षतिपुर्तिको विषयमा कुरा नमिल्दा मृतकका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरुले सोमबार पनि सुनसरीको दुहवी बजार बन्द गर्दै कोसी राजमार्ग अवरुद्ध पारे । बजार आइतबारदेखि बन्द गरिएको थियो ।

सोमबारबाट सडकमै टायर बालेर राजमार्ग अवरुद्ध पार्दै यातायात सञ्चालनमा रोक लगाइएको हो । घुँडाको शल्यक्रिया गरिएका सुनसरीको दुहवी नगरपालिका–६ का ५० वर्षीय अनिलकुमार साहको अस्पतालमै मृत्यु भएको विरोधमा आफन्त र स्थानीय आन्दोलित बनेका हुन् ।

सडकमा टायर बाल्दै बजार बन्द गराउँदा यहाँको माहोल थप अशान्त बनेको थियो । बजार दिनभर ठप्प रह्यो । सवारी आवागमन भने प्रहरीले बल प्रयोग गरी दिउसोबाट सुचारु गराएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलको नेतृत्वमा पुगेको प्रहरी टोलीले सडकमा अवरोध गर्नेहरुलाई हटाएर यातायात सुचारु गरेको थियो । बन्द रहेको बजार भने खुल्न सकेन ।

शनिबार शल्यक्रिया गरिएका साहलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको थियो । उपचारमा चिकिसत्कको लापरवाही भएको भन्दै परिवारका सदस्य, आफन्त र स्थानीय बासिन्दा घटनाको विरोधमा आन्दोलित बनेका हुन् ।

पीडित परिवारलाई उचित क्षतिपुर्ति र लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने माग रहेको मृतकका भाइ प्रदीप साहले बताए । घरबाट मोटसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो । प्रदीपका अनुसार त्यही दिन नोबेलमा उपचार गराएर घर फर्किएको र साह शुक्रबार फलोअपका लागि आएका थिए ।

शल्यक्रियापछि परिवारलाई जानकारी नदिएको र एक्कासी मृत्यु भएको भनेपछि लापरवाही गरेको पुष्टि हुने प्रदीपले बताए । घुँडाको शल्यक्रियाका क्रममा बेहोस बनाउने औषधि प्रयोगको मात्रा नमिल्दा यस्तो घटना भएको उनको दाबी छ ।

प्रदीपले अस्पतालबाट चित्तबुझ्दो जवाफ नआएका कारण घटनाको छानविन र दोषी चिकित्सकलाई कारवाहीको माग गर्दै कानुनी उपचारका लागि आफूहरु सम्बन्धीत निकायसम्म पुग्ने बताए ।

वार्तामा बार्गेनिङ

समस्या समाधानका लागि भन्दै सोमबार पनि मृतक पक्ष र अस्पताल प्रशासनबीच वार्ता भयो । तर वार्ता साँझसम्म चले पनि विना निस्कर्ष टुँगियो । वार्ताका क्रममा मृतक पक्षले पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिइनुपर्ने अडान राखेको थियो ।

अस्पताल प्रशासनले भने तीन लाख रुपैयाँ मात्रै दिन तयार भएको जनाइएको छ । ‘मृतक परिवारले पैसाको बार्गेनिङ गर्दै पाँच लाख रुपैयाँ अस्पतालले दिनुपर्ने अडान राखे । अस्पताल तीन लाख दिन सहमत भयो,’ वार्ता टोलीका एक सदस्यले भने, ‘अस्पतालले पाँच लाख दिन नसक्ने बताएपछि मृतक पक्ष तीन लाखमा सहमत हुन सकेन । वार्ता विना निस्कर्ष टुँगियो ।’

वार्तामा सहभागी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार पाण्डेले मृत्युका कारण बजार, सडकदेखि अस्पतालसम्म उत्पन्न समस्याको समाधान गर्नका लागि मृतक पक्षबाट रकम ‘लेनदेन’ को कुरा आएको बताए । ‘केही रकम दिएर समस्या सुल्झाउनका लागि सबै पक्षले अस्पताललाई आग्रह गरिरहेको पाइयो,’ उनले भने, ‘अस्पतालले मंगलबारसम्ममा निर्णय दिन्छौँ भनेको छ ।’

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्सकले लापरवाही नगरेका बताए । उनले मृतक पक्षसँग वार्ता गर्दै समस्या समाधानका लागि अस्पताल गम्भीर भएर लागेको सुनाए । अन्नपुर्ण पोष्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्