शिक्षा : एसईईमा नयाँ व्यवस्था पूरक परीक्षा सबैले दिन पाउने

शिक्षा : एसईईमा नयाँ व्यवस्था पूरक परीक्षा सबैले दिन पाउने

प्रकृति अधिकारी

काठमाडौँ, साउन ७ ,  परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ ।
गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पूरक परीक्षाको मर्म नै बढीमा दुई विषयसम्म पुनः परीक्षा दिन पाउने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “त्यसैअनुरूप सूचना प्रकाशित गरेका थियौँ । माथिबाट सबै विषयमा परीक्षा गर्नू भनियो । यो पूरक परीक्षाको मर्म नै होइन । यसले प्रवेशिकाको स्तरलाई कमजोर तुल्याउने छ । ” हालै प्रकाशित २०७५ सालको एसईई परीक्षाको नतिजा लाजमर्दाे छ । यसलाई ढाक्न शिक्षा मन्त्रालयले नै सबै विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गराएको शिक्षाविद्हरूको आशङ्का छ ।

पनिकाले साउन २६ र २७ गते पूरक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । पछिल्लो निर्णयअनुसार आगामी भदौ १ देखि ११ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिनेछ । पनिकाका अनुसार सी वा सीभन्दा कम ग्रेड ल्याएका परीक्षार्थीहरू तीन लाख ६० हजार छ सय छन् । ती सबैले परीक्षा दिनेछन् भन्ने मान्यताअनुरूप परीक्षाको व्यवस्थापन तथा तयारी गर्नुपर्ने हुन्छ ।
“एक, डेढ लाखले मात्र परीक्षा दिनेछन् भन्ने अनुमानका आधारमा तयारी गर्नु गल्ती हुनेछ” उहाँले भन्नुभयो, “त्यस्ता विद्यार्थी सबैले परीक्षा दिनेछन् भन्ने मान्यताअनुरूप तयारी गर्नुपर्ने हुन्छ । सबैका लागि १५ लाख उत्तरपुस्तिका तयार गर्नुपर्ने हुन्छ । यो भनेको झण्डै एसईई सरहकै परीक्षा हुनेछ । ” पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले साउन १० गतेसम्ममा फाराम भर्नुपर्ने र साउन १५ गतेसम्ममा जिल्लास्तरीय निकायले फारामलाई एकीकृत गर्नुपर्ने गरी समयावधि तोकिएको छ ।
एसईई परीक्षा सञ्चालनसम्बन्धी निर्देशिकामा सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेका विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था छ । निर्देशिकामा त्यस्ता परीक्षार्थीले के कति विषयसम्म परीक्षा दिन पाउने भन्ने उल्लेख नभएकाले पनिकाले यस पटक बढीमा दुई विषयसम्मका लागि मात्र अवसर दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले परीक्षा बोर्डको निर्णयलाई अमान्य ठहर गर्दै सबै विषयमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रक अधिकारीले सबैले परीक्षा दिएमा मङ्सिरयता नतिजा सार्वजनिक गर्न कठिन हुने बताउनुभयो । त्यसो भएमा पूरक परीक्षामा सहभागी भएकाहरूले यस वर्ष कक्षा ११ मा भर्ना हुन नपाउने अवस्था देखिन्छ । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले एक वर्षको अध्ययनपछि १५ अङ्क ल्याउन नसक्नेले लगत्तै लिइने परीक्षामा त्योभन्दा निकै बढी ल्याउन नसक्ने दाबी गर्दै भन्नुभयो, “१५ अङ्क ल्याउन नसक्नेलाई पुनः परीक्षामा किन बसाउनुप¥यो ? कमजोर रहेका बढीमा दुई विषयसम्म मात्र पूरक दिन पाउने व्यवस्था उपयुक्त हुन्छ । ”

प्रयोगात्मकमा कुल २५ अङ्क ल्याएका र बाँकी ७५ अङ्कमा १५ ल्याएकाहरूको जोड्दा सी ग्रेड हुन्छ । उहाँले एक महिनाको तयारीमा परीक्षार्थीले आठवटै विषयको तयारी गर्न सम्भव नहुने तर्क गर्दै यस वर्ष बढीमा दुई विषयका लागि पूरक परीक्षा दिन पाउने र आगामी छ महिनापछि सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गर्दा उपयुक्त हुने बताउनुभयो । अर्का शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेलले आठवटै विषयमा लिइने परीक्षालाई पूरक भन्न नसकिने र यसलाई नियमित परीक्षा भन्नुपर्ने तर्क गर्दै थप्नुभयो, “राज्यले शिक्षाको गुणस्तर नियन्त्रण गर्नुपर्दछ । आठवटै विषयमा पूरकको अवसर दिएर गुणस्तर नियन्त्रण हुनै सक्दैन । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्