नविन पहाडी
लामो राजनीति संघर्षमा हजारौ जनताको बलिदान पश्चात नेपालले राजनीतिक स्थायित्व पाई देश संघीय प्रणालीको अभ्यासमा गएको छ। संघीय प्रणालीमा गएकै कारण स्थानीय तह सँगै बिकट दुर दराजमा विकासको गतिले उल्लेखनिय सुधार भईहाल्छ कि भनेर टिप्पणी समेत नभएको हैनन् ।
बिकेन्द्रिकरणको यो अभ्यासले विकास र विस्तार प्रणालीको सुरुवातमा कोशेढुंगा हुनसक्ने बिश्वास पनि जनमानसमा छ । २४० वर्ष शासन गरेको निरंकुश राजतन्त्रात्मक अभ्यासलाई जनताको आन्दोलनबाट लोकतान्त्रिक गणतन्त्रमा फेरिनु आफैमा आशालाग्दो बिषय हो ।
आजसम्मका जतिपनि राजनीतिक परिवर्तनहरु भए ती सबैमा युवाहरुको भूमिका नै मुख्य थियो। यस मानेमा देशको क्रान्तिकारी वर्तमान र समृद्ध भविष्यका लागि युवाहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ ।
हरेक परिवर्तनकारी आन्दोलनको अग्रपङ्तीमा रहने युवा पुस्तालाई सत्तामा जाने खुड्कीलो बनाईयो । यसरी देशको आधा जनसंख्या ओगटेको युवा पुस्तालाई बाईपास गरिनु आफैमा दुर्भाग्य हो। कतिसम्म भने, राज्यका सबै खाले परिवर्तनमा युवाहरु हुँदाहुँदै पनि रोजगार होस् वा प्रतिनिधित्व पहिचान सबैमा युवा नै वञ्चित छन्।
विभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै त्यसबाट हाँसिल गरेका ब्यबस्थालाई टेकेर नेतृत्व गरिरहेका बर्गका केही पात्रले कमाई खाने भाँडो बनाएका कारण राजनीति प्रति युवा पुस्ताको वितृष्णा छाएको तितो सत्य हामी माझ स्पष्ट देख्न सकिन्छ। यसरी नेतृत्व तहमा युवाहरुको उपस्थिती उत्साहजनक नहुँदा आज यो अवस्था भोग्नु परेको छ।
भनिन्छ नि ‘युवा विना युगान्तकारी परिवर्तन असम्भव छ’ वर्तमानमा हामीले राम्रो कर्म गर्नसके भविष्य सम्झेर डराउनु पर्दैन । युवाहरुको जोस उनीहरुको शक्तिलाई सही ब्यवस्थापन गरेर लैजाने हो भने देशमा समृद्धिको यात्रा सहज हुन्छ भन्ने नै हो ।
हामीले युवाशक्तिको उर्जावान् जोस् र जाँगरले देश अनि समाजमा युगान्तकारी परिवर्तन ल्याउन सक्छ भन्ने सोचेका हौ । युवा शक्ति राष्ट्रको अमुल्य सम्पति भएको राष्ट्रिय युवा नीतिमै उल्लेख छ। युवा बर्ग राज्यको अमुल्य स्रोत र परिवर्तनको वाहक शक्ति पनि भन्नेमा कोही भ्रममा पर्नु पर्छ भन्ने लाग्दैन ।
पछिल्लो युवापुस्ता राजनीतिमा आउनै चाहँदैन । हिजोदेखि चल्दै आएको राजनीतिक संस्कारले युवा आकर्षणलाई निरुत्साहित बनाउँदैछ । हिजोकै पुराना वादबाट ग्रसित वयस्क (बुढा) नेताले आजका पार्टी चलाएका छन्। जसका कारण समयसापेक्ष बदलिएको नेपाली समाज र यसको आवश्यकतालाई सम्बोधन गर्न ति पार्टी नेतृत्वले सकेका छैनन्। युवा पुस्ता मात्रै नभै सिङ्गो नेपाली समाजमा राजनीति प्रतिको बुझाई सकरात्मक देखिँदैन्। अस्तित्वमा रहेका विभिन्न राजानीति दलका गतिबिधि यसको प्रमुख कारण हो ।
राजनीतिको आडमा मौलाएको तस्करी, गुण्डागर्दी, भ्रष्टाचार, ठेक्कापट्टा देखि सरुवा बढुवासम्मका विभिन्न सामाजिक अपराधलाई समेत राजनीतिले दिने आश्रयले आम जनमानसमा राजनीति प्रति वितृष्णा फैलाई राखेको छ। परिणाम देश निर्माणका प्रमुख खम्बा मानिने युवा आज राजनीति बहस र चासो भन्दा पर छ ।
अशिक्षित र नेतृत्व क्षमता शुन्य जस्तै भएका ब्यक्तिहरु राजनीतिमा हाबी हुनुको पीडा अहिलेको राजनीतिक दल भित्रको बिचलन हो । अर्को तर्फ नेपालबाट दैनिक १५ सयको हाराहारीमा युवा शक्ति कामको खोजीमा विदेश पलायन हुन्छन् । खुल्ला सिमा पारगरी कति नेपाली युवा–युवती कामको खोजिमा दक्षिणी छिमेकी भारत गइरहेका छन् भन्ने त कुनै लेखाजोखा छैन। खाडी मुलुकहरुमा ‘थ्री डी’(डर्टी, डिफिकल्ट एण्ड डेन्जरस) अर्थात फोहोर, कठिन र खतरनाक भनिने काममा हजारौ युवाहरु संलग्न रहेका छन्। राजनीतिक अदुरदर्शीता र दलहरुले युवालाई प्रयोगका साधनमात्र बनाइरहेका कारण यस्ता समस्या बढेका हुन्। जसकारण मुलुक थप गरिब र अविकसित बनेको छ। यसकालागि हामीलाई चाहिएको यि सबै कुराको कुशल व्यवस्थापन गर्न सक्ने राज्य व्यबस्था नै हो।
अन्त्यमा माओ ले भनेझै “युवा हो यो संसार तिमीहरुको हो, हाम्रो पनि हो, फेरि तिमीहरुकै हो”। युवा राजनीतिसँग जोडिए मात्र देश विकास हुन्छ। अतः शिक्षित युवा राजनीति र यसको नेतृत्वमा आउनु पर्छ। किनकी शिक्षित ब्यक्ति राजनीतिमा नआउनु भनेको अयोग्य र अशिक्षित बर्गको हेपाहा प्रबृति सहेर आफु माथि शासन गराई रहनु नै हो । यसर्थ अब राष्ट्रको दिर्घकालिन विकास सुशासन सहितको जबाफदेहिताका लागि युवा राजनीतिमा आउनुको विकल्प छैन्।
यसो नहुदाँ देश थप संक्रमणकाल र न्युन विकासको अवस्था सँगै राजनीतिक जटिलतामा गुज्रीरहने छ। यसले विकास निर्माणमा पनि जटिलता उत्पन्न गराउँछ। यो अवस्था चिर्न युवाको काँधमा जिम्वेवारीको आभास दिलाउन जरुरी देखिन्छ। बेला यहि हो हामीले आफ्नो राष्ट्रको लागि सोचेनौ भने आउने पुस्ताले धिक्कार्ने छ।