उर्लाबारीमा कटान रोक्न स्थानीयले एकै रातमा बनाए तीन सय मिटर लामो ‘पर्कुपाइन’

उर्लाबारीमा कटान रोक्न स्थानीयले एकै रातमा बनाए तीन सय मिटर लामो ‘पर्कुपाइन’

विराटनगर, ८ साउन । इच्छाशक्ति भए जतिसुकै अप्ठ्यारा पनि पार लगाउन सकिन्छ भन्ने भनाईलाई मोरङ उर्लाबारी–८ दुर्गापुरीका बासिन्दाले व्यवहारमा प्रमाणित गरेर देखाएका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने आख्यानलाई यथार्थमा परिणत गर्ने गरी स्थानीयले लगातार १५ घण्टाको मिहिनेतबाट तीन सय मिटर भन्दा लामो बाँसको अस्थायी बाँध ‘पर्कुपाइन’ बनाएका छन् ।

असार अन्तिम साता परेको अबिरल वर्षाका कारण उर्लाबारीको बीच भागबाट बग्ने बक्राहा खोलाले दुर्गापुरी बगरटोलको जमिन कटान गरिरहेको थियो । कटान तिब्र हुँदै खोला बस्तीमा पस्ने अवस्था आइसेको थियो । त्यसलाई रोक्न सरकारका तर्फबाट तत्काल पहल भइरहेको थिएन । खोलाले जेठा मरडी, करण मरडी, बुद्धिलाल हेमरन, मुसुज हेमरन, मण्डल मुर्मू र डेडमै सरणको घर बगाइसकेको थियो ।

दुई वर्ष अघि आएको बाढीले सोही बस्तीको १४ घर बगाएर लगेको थियो । बाँकी रहेको ६ घर यसपालीको बाढीले बगाइदियो । बीस घर सतार जातिको बस्तीमा अहिले बक्राहा उर्लिएर बगिरहेको छ । बस्तिको छेउमा रहेको पीपलको बोट पनि बाढीले लडाइदिएको छ भने उनीहरूको कुलमन्दिरको पनि कुनै नामोनिसान छैन । तत्काल कटान नरोक्दा खोलाले इटहराका दुई वटा वार्ड, गोविन्दपुरक्षेत्रको धेरै भूभागमा ठूलो क्षति पु¥याउन सक्थ्यो । सम्भावित क्षति र अनियन्त्रित कटान रोक्नकालागि स्थानीयहरु आफैं जुटे ।

उहाँहरुसँग न बजेट थियो न आवश्यक स्रोतसाधन नै । नदीको कटान रोकेर खेतीयोग्य जमिन र तल्ला बस्तीहरु जोगाउन बाँध बनाउनै पर्छ भन्ने इच्छाशक्ति मात्र थियो । स्थानीयको इच्छाशक्तिको प्रमुख स्रोत हुनुहुन्थ्यो त्यस क्षेत्रका प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा । जसरी पनि कटान रोक्नुपर्छ भनेर उहाँ स्वयं दर्के झरीमा काममा खटिनुभएको थियो ।

उहाँकै पहलमा जनपद प्रहरीको दश जनाको टोली र सशस्त्र प्रहरीको २५ जनाको टोली साँझ ५ बजे घटनास्थल पुग्यो । प्रदेश सभा सदस्य साम्बासहित अरु २५–३० जना स्थानीय भेला भएर ‘पर्कुपाइन’ बनाउन थाले ।

भेलाभएकाहरुले समूह बनाए । बाँस काट्ने, गिड्ने, गाड्ने र बाँध्ने काममा जुटे । साँझ ५ बजेटबाट सुरु गरको काम रातभर जारी रह्यो । सबैको पहल र प्रयत्नबाट १० लाख रुपियाँ भन्दा बढी लागत पर्ने ‘पर्कुपाइन’ तयार भयो ।

पूर्णजनश्रमदानबाट बाँध तयार भएपछि कटान नियन्त्रणमा आएको छ । ‘पर्कुपाइन’ विधिबाट यो पटकको बाढी बस्ती छिर्नबाट जोगाउन सफल भएपनि दीर्घकालिन समाधान भने आवश्यक रहेको जेठा मरडी बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्