काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ । बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आँकलन गरेर राष्ट्र बैंकले सीमा तोक्ने छ ।
मौद्रिक नीतिमा भएको यो व्यवस्था कार्यान्वयनका लागि चाँडै नै सर्कुलर जारी गरिने उनले जानकारी दिए । घर वा गाडी खरिदका लागि कर्जा दिँदा व्यक्तिले मासिक आम्दानीको कति प्रतिशत किस्ता तिर्न सक्छ, सोही अनुपातमा मात्रै ऋण दिन सकिने प्रवक्ता निरौलाले जानकारी दिए । –कान्तिपुर दैनिकबाट