बाढीमा बगेका अर्जुनले भेने ‘लत्रिएको बिजुलीको तार समाएर बाँचेँ’

बाढीमा बगेका अर्जुनले भेने ‘लत्रिएको बिजुलीको तार समाएर बाँचेँ’

बेलिना थापा

लमजुङ, साउन १० गते ।

‘कसरी बाँचेँ भन्ने कुरा अहिले राम्ररी भन्न सक्दिनँ । यस्तो दशा आइलाग्ला भन्ने कल्पना पनि गरेको थिइनँ’, लमजुङ सामुदायिक अस्पतालमा उपचार गराइरहेका अर्जुन आलेले काँपेको स्वरमा भन्नुभयो, “बाँच्ने दिन अझै रहेछ । बाढीमा लत्रिएको बिजुलीको तार समाउन पाएँ । ”
लमजुङको दोर्दीखोलामा बुधबार अचानक आएको भीषण बाढीमा बगे पनि बाँच्न सफल आलेले अहिले आफू सपनामा छु कि विपनामा भन्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै कुरा सपनाजस्तो लागिरहेको छ । ”
“बाढीले चँुडाएको बिजुलीको तार हाम्रा लागि भावी बन्यो”, आले मगरझँै दुई सय मिटरभन्दा बढी बाढीमा बगेपछि बाँच्न सफल बारा सिमराका सन्तोष सरदारले भन्नुभयो, “दिन नसकिएर होला, काललाई पनि जितेझैँ लागिरहेछ । ” निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा आले, सरदारलगायत अन्य १० जना कामदार थिए । बुधबार एक्कासि खोलामा आएको बाढी र छालका कारण उनीहरू आवास छेउको बगरमा तितरबितर भए । कोही छालसँंगै बग्न थाले । कोही खोलामै अड्किए । बिजुलीको तार समाएर दुईजना खोलापारि पुग्न सफल भए पनि अरू बाढीमा बगे ।
बाढीबाट बचेका उनीहरू भन्छन्, “खोला हो बढिरहन्छ भनेर वास्ता नगर्दा आफ्नै आवासस्थल पनि सुरक्षित भएन । पछि एक्कासि बाढी आउँदा बगाएको पत्तै भएन । ”

खोलामा बाढी आएकोबारे समयमै जानकारी पाएको भए सतर्क रहने घाइतेहरूको भनाइ छ । बाढीमा बगेर पनि पौडिएर बाँच्न सफल बारा सिमराका हरि विकले भन्नुभयो, “आवासस्थल सुरक्षित स्थानमा नभएकाले हामी बाढीसँंगै बग्नु प¥यो । ”
दोर्दीखोलाको बाढीले बगाउँदा मृत्यु भएका चार जनाको सनाखत भएको प्रहरीले बताएको छ । पोस्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएका चारैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिकाका सइद अन्सारी, पर्सा जिल्ला पोखरिया नगरपालिकाका शिवधुन चौधरी, सप्तरी जिल्ला सप्तकोसी नगरपालिका–८ का भुवनेश्वर चौधरी र डडेल्धुराको आलिताल गाउँपालिका–६ का रमेश बुढा रहेको प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार शव पोस्टमार्टमका लागि बेँसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।
बाढीमा परेका छ जना अझै बेपत्ता रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएका घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बेपत्ता भएकाको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत् आयोजना, जनप्रतिनिधि र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्