१६ वर्षमै छोरीको बिहे गराउन माग गर्दै आमाहरू आन्दोलित

१६ वर्षमै छोरीको बिहे गराउन माग गर्दै आमाहरू आन्दोलित

बाँके,१४ साउन ।  १६ वर्ष पुगेकी छोरीले बिहे गर्न पाउनुपर्ने माग गर्दै बाँकेका मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन्। आन्दोलित महिलाहरूले मंगलबार नेपालगन्ज–कोहलपुर सडकखण्डको बिपी चोकमा सवारी साधन अवरुद्ध पारेका हुन्। केटाकेटीको उमेर २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न/गराउन पाउने कानुनी व्यवस्था मधेसी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै महिलाले नेपालगन्ज उपमहानगरपालिका अगाडि सडकमा उत्रिएर सवारी साधन अवरुद्ध गरेका हुन्।

विभिन्न गाउँबाट आएका मधेसी र मुस्लिम महिलाले १६ वर्षको उमेरमा विवाह गर्न नपाउने गरी बनेको कानुनले फाइदाभन्दा बेफाइदा पुर्‍याएको बताए। २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्थाले मधेसी र मुस्लिम समुदायका बालबालिकाको विवाह गर्न समस्या हुने खजुरा गाउँपालिका–५, रजनवाकी २२ वर्षीया शान्ति यादवले बताइन्। उनले आफ्नो विवाह ९ वर्षको उमेरमा भएको र १४ वर्षको उमेरमा घरमा गएको बताइन्।

कानुन नसच्याई यसले मधेसी र मुस्लिम समुदायमा विकराल रूप लिने बताउँदै माग सुनुवाई नभए सशक्त आन्दोलनमा उत्रिने नेपालगन्ज उपमहानगरपालिका–१५, टंगपसरीकी साल्मा राईले बताइन्। माग सुनुवाई नभए गाउँ–गाउँबाट महिला ल्याएर सडकमा सुत्ने चेतावनी उनले दिइन्।  सडक अवरुद्धसँगै उपमहानगरपालिका घेराउ गरेका महिलाले कानून परिमार्जन गर्नुपर्ने माग राखेर बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई सकेका छन्।

महिलाको टोलीले कानुन सच्याउन मागसहितको सिफारिस गरिदिन मंगलबार नेपालगन्ज उपमहानगरपालिकासँग अनुरोधसमेत गरेका छन्। उनीहरूले उप–महानगरपालिकालाई लिखित पत्रसहित कानुन सच्याउनका लागि सिफारिस गरिदिन आग्रह गरेको कार्यकारी प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्