काठमाण्डाै । सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ ।
मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् । पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटबढ भैरहेका कारण नेपालमा पनि भाउ बढिरहेको संयोजक शाक्यले बताउनुभयो ।