रातभरी चिहान घारीका धामी दिउँसो बजारमा भेटिए, महिला र बालबालिका पनि धामीका रुप

रातभरी चिहान घारीका धामी दिउँसो बजारमा भेटिए,  महिला र बालबालिका पनि  धामीका रुप

सुमन सुस्केरा
तेह्रथुम (छथर), ३१ साउन ।
बिहिवार तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर २ मा निक्कै भिडभाड थियो । चारैतिरबाट मान्छे आउने जानेको लाईन देखन्थ्यो । भिडभाडका बिचमा एउटा धामीहरुको समुह ओरालो लाग्दै तल झर्दै थियो । हातमा सर्पको हड्डीको माला लगाएका अनी ढ्याङ्ग्रो ठटाउँदै, देख्दै डरलाग्दो खालको गतिबिधि सहित ओरालो लाग्दै झरेका थिए । अघि अघि आएको एउटा हुलसँगै अन्य धामीहरुको हुल पनि उसैगरी काम्दै ओरालो झर्दै थियो ।
यसरी आएकाहरु सबै खालका थिए । त्यहाँ महिला र बालबालिका पनि देखिन्थे। हातमा तरवार, खुँडा, खुकुरी, बाँसको लिङ्गोमा बाँधिएका ध्वजा पताका सहित हातमा कसैको अगरबत्ती थियो । यो देख्दा लाग्थ्यो गाउँका सबै खालका ब्यक्ति धामी समुह गाउँमा सक्रिय छन् ।
त्यही भिडभाडको बिचमा थिए, लाली गुराँस नगरपालिका वडा नम्बर ५ का शेरबहादुर याख्खा । उनी सहित उनको परिवार यसरी धामी काम गर्न थालेको नबौँ पुस्ता भई सकेको छ । आजभन्दा पहिला सबैले यही धामी झाँक्रीको काम गरेपछि आफुहरु पनि यसमा लागेको याख्खाले बताए ।
हातभरी लगाएको सर्पको हड्डीको माला तर्फ देखाउँदै उनले भने, ‘यो लगाउँदा आफ्नो रक्षा हुन्छ । झार फुक गर्दा निको हुने भएकोले यो सर्पको हड्डीको माला लगाएको हो ।’
बिगत नौ पुस्तादेखि यो काम गर्दै आएको बताउने शेरबहादुर याख्खाले यो कर्म अहिले पनि गरिरहेको जानकारी दिए । नाग पञ्चमीदेखि गुरु थाप्ने, पुजा गर्ने चलन पहिला देखिको नै हो । भदौरे पुर्णिमामा धुपधुवार गर्ने, पाँच पोखरी, सातपोखरी तथा मार्ग पोखरीमा गुफा बसी (चिन्ता बसी) ढुङ्गा मुनीको पानी, रुखमुनीको पानी लिएर पुजा गर्ने ठाउँमा जाने गरेको उनले बताए ।
याख्खा मात्र है उनीसँगै थिए अर्का धामी दिलबहादुर कार्की । उनी १४ बर्ष पहिला धामी बनेका हुन् । उनी रोग लागेका बाहेकका सामान्य बिरामी झारपुकबाट निको भएको बताउँछन् ।
यस्ता छन् धामी झाँक्री
यो शुक्रवारेमा गुरुलाई सम्झिँदै पुजा गर्न आउनेहरुमा डाँगपा, सुदाप, हमरजुंग, सिङ्थापा, ओख्रे, आङ्दिम, पञ्चकन्य, फाक्चामारा, हात्तिखर्क, ताङ्खुवा देखिका छन् । यी क्षेत्रका धामीहरु हरेक बर्षको जनै पुर्णिमाको दिन यसै गरी आउने गरेका छन् । यसरी आउने धामीहरु प्नि फरक फरक खालका हुने गरेको धामीका अगुवाहरु बताउँछन् । धामीका अगुवा रुद्रबहादुर लिम्बुका अनुसार, साङ्बा, माङ्वा, बिजुवा, झाँक्री, बुर्बजे, ओझा, ग्यावालामा, खदवाङमा प्रकारका धामीहरु यहाँ आउने गरेका छन् ।
एक पटक धामी भएकाहरुको नवौ पुस्तामा पनि धामी नउत्रने र बिधि पुर्याएन भने दुख दिने गरेको लिम्बुले बताए । ‘बिधिमा वेवास्ता गर्यो भने, बिरामी पर्ने, काम्ने लगायतले दुख दिने गरेको छ, लिम्बुले भने, भुत प्रेत तथा देवी देवता नहुँदासम्म काम्नै सकिँदैन ।’
आफुमा आएको शक्तिलाई गुपचुप गर्यो भने, कुँजो हुने, बिरामी हुने , घर परिवारमा हानी हुने गरेको यी धामीहरु बताउँछन् । एउटा धामीले कुल पितृ तथा देवीदेवता मान्दै आयो भने सफल हुने र अरुलाई पनि सफल गराउन सक्ने उनीहरुको दाबी छ । देबी देवताको दोष, भुत प्रेत लागेको बिरामी आफुहरुले ठिक पारेको तर रोग नै लागेको बेलामा भने आफुहरुले ठिक हुन्छ नभन्ने गरेको लिम्बुले बताए ।
छथर कै उमेरले ४५ बर्ष काटेका रामकुमार याख्खाले १० बर्षदेखि धामीको काम शुरु गरेको तर गुफा बसेको चौथौ बर्ष भएको बताए । आफुले शक्ति हाँसिल गर्नको लागि रातभरी जंगलमा बस्नु परेको बताए । नाग पञ्चमी पछि गुरुको धुप धुवार गर्ने गरेको छ । जीउलाई शान्ती र देशानलाई शान्ती गरेस् भनेर आउने गरेको उनले बताए ।
रातीको समयमा गुफा बसेको बेला कुनै गुरुले बोलाएर आफुलाई शक्ति दिने र पहिचान दिने उनको अनुभव छ । उनी धामी बसेको बेला आफुलाई अप्ठेरो पर्ने भएकोले स्वास्थ्यलाई राम्रो होस भन्ने भावनाले गुफा बसेको बेला दिईनेसन्देश अनुसार आफुलाई पनि फाईदा हुने र काम गर्न सजिलो हुने उनको भनाई छ।

रातभरी चिहान घारी दिउँसो शुक्रवारेमा
भदौरे पुर्णिमा अर्थात जनै पुािर्णमाको अघिल्लो दिन उनीहरु गुफा बस्नको लागि घरबाट हिँडन् । बिहान १० बजे हिँडेका यी धामीहरु रातीको समयमा चिहान तथा जंगलमा बस्ने, पुजा गर्ने, काम्ने अनी आफुलाई धामी बनाएका गुरुलाई मान्ने काम गर्दैछन् । जब उनीहरु रातभरी बसेर पुजापाठ गर्छन त्यही राती नै उनीहरुले गुरुसँग भेट हुने उनीहरु सुनाउँछन् । त्यो गुरु भनेको के हो अरु कसैलाई पनि थाहा हुँदैन ।
छथर पाउँपालिका वडा नम्बर १ मा रहेको मार्गापोखरी उनीहरुको रात्रीको समय बिताउने ठाउँ हो । यो मार्गा पोखरीको वरीपरी जंगल छ । त्यो जगलको बिचमा भएको पोखरीको वरिपरी रहेको जंगलहरुमा चिहानघारी छ । त्यही मार्गा पोखरी उनीहरुको गुरुलाई सम्झीएर रातभरी धुप धुवार गरेर बस्ने ठाउँ हो । अनी रातभरी धामी बसेका उनीहरु बिहानै देखि त्यही रुपमा धामी बस्दै गाउँपालिका नजिकै रहेको शुक्रवारे बजारको एउटा ढुङ्गोलाई परिक्रमा गर्छन् । पुर्णिमाको अघिल्लो दिनदेखि पुर्णिमाको दिन १२ बजेसम्मको २४ घण्टालाई उनीहरु गुफा बसेको मान्छन् । यसरी गुफा बस्दा आफ्नो जीउमा शक्ति आउने उनीहरु बताउँछन् । सबैका आफ्नो विस्वास हुन्छ । सबैले यो बेला फरक फरक कुरा मागेका हुन्छन् ।
शुक्रवारेमा रहेको एउटा शिला छ त्यही शिलालाई उनीहरुले शक्तिको रुपमा मान्छन् । यही रत्नादेबी नै उनीहरुको शक्ति आर्जन गर्ने ठाउँ हो । यो पहिला हमरजंगमा उत्पती भएको र त्यो सार्दै अहिले शुक्रबारेमा ल्याएको मानिन्छ । रामकुमार याख्खा भन्छन्, ‘रत्ना बाजेले खोलाबाट खौवा भन्ने ठाउँबाट ल्याएर शुक्रबारेमा राखेको धामी गुरुहरुले बताएको हामीलाई थाहा छ ।’ गुरुहरुले त्यही भनेकोले गर्दा अहिले पनि त्यही ढुङ्गालाई रत्नदेबी शक्तिको रुपमा धामीहरुले मान्दै आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्