उदयपुरमा डेंगुका दुई दर्जन बिरामी

उदयपुरमा डेंगुका दुई दर्जन बिरामी

उदयपुर । डेंगु रोगका बिरामी बढ्दै गएपछि उदयपुरको चार नगरपालिकामा स्थानीय त्रसित बनेका छन्। जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा दुई जनाबाट सुरु भएको डेंगु एक दर्जन बढीमा फैलिएपछि त्रास फैलिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार कटारी नगरपालिकामा शुक्रबारसम्म १३ जना बिरामी देखा परेका छन। त्यसैगरी बेलका नगरपालिका ५ मा ४ जना, त्रियुगा नपा १२ मा १ जना, चौदन्डीगढी विपिचौकमा १ जना बिरामी रहेको उनले बताए।

बिरामी परेका मध्ये अधिकांशलाई धरान र बिराटनगर पठाइएको उनले बताए। दुई जना बिरामीमा डेंगुको एंटिजन पोजेटिभ फेला परेको कटारी अस्पताल प्रमुख डा.पवन शाहले बताए। एक सातादेखि लगातार ज्वरो आएर अस्पतालमा उपचार गर्न आएका कटारी नगरपालिका–३ की नीलम खड्का र चित्रबहादुर दाहाललाई डेंगु एंटिजन पोजेटिभ फेला परेको कटारी अस्पतालका प्रमुख डा.पवन शाहले बताए।

उनले भने, ‘बिरामीमा ज्वरो नघटेपछि जीवनज्योती प्याथोलोजीमा रगत परीक्षण गर्दा डेंगु एंटीजन पोजेटिभ देखिएको हो।’ कटारीका निजी र सरकारी अस्पतालमा रगत परीक्षण गर्दा डेंगु देखा परेको उनको भनाइ छ। जिल्लामा यस अघि डेंगु रोगका संक्रमण देखा परेको थिएन। डेंगुको संक्रमण फेला परेपछि बिरामीको घरपरिवारलाई सफासफाई गर्न डाक्टरले सुझाव दिएका छन्।

डेंगुेको संक्रमण बढ्दै गएपछि बिरामीको अबस्था बुझ्न कटारी अस्पताल पुगेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बिरामीको उपचारमा कन्जुस्याइ नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए। ‘डेंगुेको टेस्ट गर्न चाहिने किट तत्काल उपलब्ध गराई बिरामीको उपचारमा कुनै कमी हुन नदिनुस, समस्या परे भन्नुस नगरपालिका छ।’ उनले भने। मेयर श्रेष्ठले नगरपालिका स्वास्थ्य शाखाले डेंगु नियंत्रण गर्न अभियान सुरु गरेको बताए। ‘कटारीमा डेंगु संक्रमण देखिएको छ हामी संवेदनशील छौं यद्यपी घर वरिपरी पानी जमेको छ भने लामखुट्टेले फुल पार्न सक्छ, त्यसैले निरन्तर रुपमा सरसफाईमा ध्यान दिन समेत जरुरी छ।’ डाक्टर साहले भने।

वर्षादको समय सकिएसँगै हिउँदको समय सुरु हुने मौसममा सफा पानी कुनै खुला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने अस्पतालका डाक्टर गौरब शाहले बताए।

प्रमुख खकुरेलले स्थानीय तहदेखि मातहतका अस्पताल, स्वास्थ्य केन्द्र र माथिल्लो निकाय प्रदेश र विभागलाईसमेत जानकारी गराइसकेको बताए। जिल्लाका ४ वटा नगरपालिकामा बिरामी देखापरेपछि सम्भावित हुने महामारीलाई नियन्त्रणका लागि प्रयास जारी रहेको उनले बताए। पोथी लामखुट्टेले सफा पानीमा अण्डा पारेर बच्चा निकाल्ने बेलामा मान्छेलाई टोकेपछि बिरामी हुने चिकित्सकको भनाइ छ। लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरीर दुख्ने लक्षय देखिने गर्दछ। भरत खड्का/अन्नपुर्ण पोष्ट  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्