श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या, घटनामा संलग्न ४ जना सार्वजनिक

श्रीमतीले नै सुपारी दिएर गराइन् श्रीमान्‌को हत्या, घटनामा संलग्न ४ जना सार्वजनिक

जनकपुर । महोत्तरीको बर्दिबासमा श्रीमतीद्वारा सुपारी दिएर श्रीमान्‌को हत्या गराएको घटनामा संलग्न ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। श्रीमतीले पेसेवर अपराधी प्रयोग गरेर श्रीमान्‌को हत्या गराएको रहस्य खुलेको शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिवासमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम कृष्ण अधिकारीले बताए।

एसपी अधिकारीका अनुसार बर्दिबास नगरपालिका-३, गौरीडाँडाका ३६ वर्षीय 'सरोज' भनिने श्रवण थापालाई उनकै श्रीमती पूजा थापाले सुपारी दिएर हत्या गराएकी खुलेको हो। पूजाले श्रीमान्‌को हत्या गराउन आफ्नै बहिनीमार्फत पेसेवर अपराधीको सहयोग लिएको अनुसन्धानको क्रममा देखिएको एसपी अधिकारीले बताए।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर आज सर्वजनिक गरेको हो। पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका-३, हरकटवाका २७ वर्षीय प्रमोद सिंह, सोही गाउँपालिकाको वडा-२ बस्ने २७ वर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका-६, बखरी टोलका ३३ वर्षीय 'जिला' भनिने श्रीनारायण महरा र ४६ वर्षीय टिआई सहनी रहेका एसपी अधिकारीले जानकारी दिए।

'यद्यपि घटनाबारे थप अनुसन्धान हुँदैछ,' अधिकारीले भने, 'घटनामा संलग्नहरु अरु पनि छन्। सरोजको हत्यामा करिब एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन्। आरोपी पूजा भने फरार छिन्।'

केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले महिनादिनदेखि सरोज हत्याको अनुसन्धान गरिरहेका थिए। घटनामा संलग्न रही हाल फरार रहेकाहरुको भने खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

यसरी पुग्यो हत्यारासम्म प्रहरी
गत असार ३१ गते राति साढे १० बजेको समयमा बर्दिबास नगरपालिका-३, गौरीडाँडाका ३६ वर्षीय 'सरोज' भनिने श्रवण कुमार थापाको स्थानीय विपी राजमार्गअन्तर्गत बर्दिबास-३ स्थित स्मृति पार्क नजिकै अचेत अवस्थामा भेटिएका थिए। प्रहरीले तत्कालै उनलाई बर्दिबासस्थित शुभ-श्वस्तिक अस्पतालमा ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

सुरुमा सो घटनालाई प्रहरीले सवारी दुर्घटनाको रुपमा लिए पनि पछि अनुसन्धानको क्रममा नियोजित ढंगले थापाको हत्या गरिएको संकेत मिलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

टाउकोमा दुई ठाउँमा गम्भीर चोट देखिएको र सोही कारण उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा जनाइएपछि प्रहरीले सो घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ। सिआइबीलगायत प्रहरीका ४ वटा अनुसन्धान टोलीको सक्रियतामा उनीहरुलाई सामाजिक सञ्जालमा गरिएको कुराकानीको आधारमा पक्राउ गरिएको अधिकारीले जानकारी दिए।

समाजिक सञ्जालमा पैसाको लेनदेनका सम्बन्धमा भएको कुराकानी तथा घटना भएको दिन ५ जना (अहिले पक्राउ परेका ४ जनासहित)को मोबाइल लोकेसनको आधारमा लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक अधिकारीले बताए।

उनका अनुसार थापालाई हत्या गर्नका लागि २ लाख ७५ हजार रुपैयाँमा सहमति भएको अनुसन्धानको क्रममा अभियुक्तले स्वीकार गरेका थिए। केही दिन अगाडि मात्र ७० लाख रुपैयाँमा जग्गा बिक्री गरिएको र सोही रकमको विषयमा भएको विवादले उग्ररुप लिएपछि सरोजको घरपरिवारकै संलग्नतामा हत्या भएको हुनसक्ने स्थानीयहरुले आशंका गर्दै आएका थिए।

हत्याको योजना बुन्न मृतकका को-को आफन्त सामेल थिए भन्ने पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। यद्यपि थापाकी पत्नी पूजा र ससुरालीतर्फ ३ जना सालीहरु र सासु पनि सामेल रहेका प्रहरी उपरीक्षक अधिकारीले खुलाए। उनीहरु भने अझै फरार छन्।

जग्गा बिक्री गरेर थापाले मोटो रकम बैंकमा राखेको थाहा पाएका ससुराली पक्षका आफन्तले उनको हत्यापछि सो रकम पत्नी पूजाले निकाल्न पाउने आशमा हत्या योजना बुनेका हुनसक्ने प्रहरीले अनुमान गरेको छ। थापाको ससुराली घर छिमेककै धनुषा जिल्लाको मिथिला नगरपालिकाको बाहुनमारा हो। थापाको घर र ससुराली घरको दूरी मात्र ७ किलोमिटर छ।

प्रहरीले घटनाका दोषी सार्वजनिक गर्दैछ भन्ने थाहा पाएपछि बर्दिबास-३, गौरीडाँडाका सर्वसाधारण र मृतक थापाका घरतर्फका आफन्त ठूलो संख्यामा महोत्तरी प्रहरी कार्यालयअघि उपस्थित भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख नै सहभागि रहेको अभियुक्त सार्वजनिक गर्ने कार्यक्रममा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक निशान थापाले घटनामा संलग्न सबैलाई पक्राउ गरिने प्रतिबद्धता जनाए। नेपाल लाईभबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्