गरिखानेको कथा : तरकारीले बदलियो मीनाको पहिचान

गरिखानेको कथा : तरकारीले बदलियो मीनाको पहिचान

धम्बोझी, भदौ ७ गते ।  बर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ । ४० वर्षीया थारुको पढाइलेखाइ नभएपनि उहाँमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ बस्दै आउनुभएकी मीनाले जिल्लामै सफल महिला कृषकको रुपमा पहिचान बनाउनु भएको छ । उहाँको बारीमा थरीथरीको तरकारी देख्न सकिन्छ । विसं २०६९ बाट तरकारीको व्यावसायिकतामा लाग्नुभएको थारूलाई अहिले भ्याइनभ्याइ छ ।

आफ्नो जग्गामा र अरुसँग केही जग्गा भाडामा लिएर उहाँले तरकारी खेती गर्नुभएको छ । एउटै याममा तरकारी बेचेर रु दुई लाख कमाउन सकेको उहाँ बताउनुहुन्छ । उहाँले मौसमी र बेमौसमी तरकारी लगाउने गर्नुभएकाले वर्षैभरि बारीमा तरकारी हुने गर्दछ । उहाँ भन्नुहुन्छ, ‘‘मलाई वर्षभरि नै तरकारीले व्यवस्त बनाएको छ । यसबाट कमाइ पनि राम्रै भएको छ ।’’

उहाँ आफैँ पनि टाउकोमा छिट्नी बोक्दै तरकारी बेच्ने गर्नुहुन्छ । आफूले विषादीरहित तरकारी उत्पादन गरेको भन्दै उहाँ आफूले उत्पादन गरेको तरकारीको प्रचारसमेत गर्नुहुन्छ । कोही घरमै तरकारी किन्न आउने गर्छन् ।

मेला, हाटबजारमा उहाँले बाटो बाटोमा तरकारी बेच्नुहुन्छ । घरमै बसेर तरकारी खेती गर्दा राम्रो कमाइ भएकाले लौका, फर्सी, भिण्डी, साग, भण्टा, सिमी, करेला, बोरी, खुसार्नी लसुन, प्याज, च्याउलगायत अन्य विभिन्न प्रकारका तरकारी लगाएकाले उहाँको बारी वर्षैभरि हरियाली हुने गर्दछ ।

बजार मूल्यभन्दा सस्तोमै आफूले गुणस्तरीय तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेकाले पछिल्लो पटक तरकारीको माग अझै बढ्दै गएको उहाँको भनाइ छ ।  अन्य महिलालाई पनि तरकारीखेती गरेर व्यावसायिक बन्न आफूले प्ररणा दिएको उहाँ बताउनुहुन्छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्