काठमाडौँ । कानुन भन्छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ तर, के गर्दा दुरुत्साहन मानिन्छ भन्ने व्याख्या छैन ।
१ भदौ ०७५ देखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ मा पहिलोपटक आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा समावेश गरिएको हो । तर, ऐनमा कस्तो अवस्थालाई आत्महत्या दुरुत्साहन भन्ने प्रस्ट व्याख्या नहुँदा अन्योल सिर्जना भएको छ।
प्रहरीसमेत अलमलमा छ । आत्महत्या घटनामा जाहेरी परे मात्र मुद्दा दायर गर्ने नत्र चासो नदेखाउने, अनुसन्धान नगर्ने प्रहरीको कार्यशैली देखिएको छ । आत्महत्या गर्ने व्यक्तिले संकेत गरेकै आधारमा निर्दोष पनि मुद्दाको झमेलामा परिरहेका छन् ।
दोलखा भीमेश्वर नगरपालिका–१ सुस्पा क्षमावतीकी २१ वर्षीया सुनीता थामी चार वर्षदेखि काठमाडौं वसुन्धराका सुमित मैनालीकहाँ घरेलु कामदारका रूपमा काम गर्थिन् । सुनीताको कामबाट मैनाली परिवार सन्तुष्ट नै थियो ।
गत ११ जेठको बिहानै नियमित शारीरिक अभ्यासका लागि सुमित घरबाट निस्किए । सुमितकी श्रीमतीसहित सबै परिवार र सुनीता घरमै थिए । सुनीता घरभित्रै यताउता गर्दै थिइन् ।
तर, केहीबेरमै उनी गायब भइन् । घरका सदस्यले धेरैपटक बोलाउँदा पनि सुनीताको आवाज आएन । खोजीकै क्रममा सुमितकी श्रीमती कौसीमा पुगिन् । सुनीता त पानी ट्यांकीको रडमा झुन्डिएको अवस्थामा देखिइन् ।
सुमितका परिवारले तुरुन्तै प्रहरीमा खबर गर्यो । प्रहरी घटनास्थल पुग्यो, अध्ययन गर्यो । प्रहरीले सुनीताको परिवारका सदस्यको खोजी ग¥यो । परिवारका सदस्य नभई शवको सनाखत नहुने प्रहरीले बतायो । त्यसपछि परिवारको सदस्यको खोजी भयो ।
सुनीताका अभिभावक दोलखामै बस्थे । खबर पाएपछि काठमाडौं आए । सुमितको घरमा सुनीताका आफन्तको भिड जम्मा भयो । उनीहरूले हत्या भएको दाबी गरे । उनीहरू निरन्तर दबाबमा उत्रिए ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गर्दा सुनीताको आत्महत्या नै भएको रिपोर्ट आयो । तर, सुनीताका आफन्त रिपोर्ट स्विकार्न तयार भएनन् । उनीहरूले सुमितलाई पक्राउ गर्न दबाब दिए । आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत सुमितविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन गए ।
तर, घटनास्थलमा कुनै सुसाइड नोट नभेटिएका कारण प्रहरीले जाहेरी लिन मानेन । तर, आफन्त झन् आन्दोलित भए । अन्ततः सुमितले सुनीताको परिवारलाई १५ लाख क्षतिपूर्ति भराउनुपर्यो ।यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र सन्तोष भट्टराईले लेखेका छन्।