विराटनगर । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व भव्य रुपमा मनाएका छन् । तीजमा पानी समेत नखाई व्रत बसेर भगवान शिवको पूजा गर्ने परम्परा अनुसार तीज भब्य रुपमा आफ्नो पतिको दिर्घायुको कामना गर्दै मनाएका हुन् । देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको थियो ।
तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले राम्रो वर पाउने धार्मिक विश्वास छ । सत्ययुगमा आजैको दिन निराहार व्रतबसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । आज मुलुकभरका शिव मन्दिरहरुमा विशेष गरि महिलाहरु पुजा पाठ गर्न जाने चलन छ ।
यता विराटनगरको विभिन्न मठ मन्दिरमा पनि व्रतालु दिदी बहिनीहरुको बाक्लो भिड लागेको थियो । विराटनगर १० मा रहेको संसारी माईस्थानमा लामबद्ध भएर पुजा पाठ गर्नेको भिड थियो । यता विराटनगर ७ मा रहेको सरस्वती मन्दिर संचालक समितिले आयोजना गरेको हरितालिका विशेष तीज कार्यक्रम भव्य रुपमा मनाएका छन् । नेपाली फिल्मका निर्देशक तथा निर्माता कलाकार विराटनगर कै चेली दिपाश्री निरौला तथा गाका रानु निरौलाको समेत उपस्थिती थियो ।
परोपकार अभियान समूहमा पनि रमझम
हरेक बर्ष झै यो बर्ष पनि परोपकार अभियान समूहमा रमझमका साथ तीज मनाईएको छ । परोपकार घाटको शिवालयमा आयोजना गरेको तीज महोत्सवमा सांस्कृतिक कार्यक्रम भएको छ।सो कार्यक्रममा प्रतियोगितात्मक नृत्य र गायनका कार्यक्रमहरुमा विभिन्न २२ एकल तथा समूहमा महिला तथा बालिकाहरुले भाग लिएका थिए ।
प्रतियोगितामा पवित्रा माझी, नविना कट्वाल , प्रतिमा निरौला , एलिना खड्का, सृजना अधिकारी बाल समूहकी सुलोचना भट्टराई पुरस्कृत भएका थिए भने उनीहरुलाई परोपकार अभियान समूहका अध्यक्ष बाबुराम नेउपाने लगायत कार्यसमितिका पदाधिकारी एबम सल्लाहकारहरुले पुरस्कार समर्पण गरेका थिए ।
कार्यक्रमको संयोजन गीता अधिकारिले गरेकी थिइन् भने संचालन इन्दु सुवेदी र उर्मिला सुवेदीले गरेका थिए । प्रतियोगिताको निर्णायक प्राध्यापक एबम साहित्यकार दिनेशराज सुवेदी र अधिबक्ता मीना सेढाई थिए । कार्यक्रममा ८० वर्ष भन्दा माथीका आमाहरु इन्द्रकुमारी त्रिताल र कुलमाया निरौलालाई संस्थाको तर्फबाट सम्मान गरिएको थियोे ।