विराटनगर । कोशी प्रदेशमा झण्डै दुई दशकपछि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’ आगामी मंसिर १० देखि १२ सम्म मोरङको बुढीगंगा स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा हुने भएको छ ।

नेपाल शल्यचिकित्सक समाज (एसएसएन) कोशी प्रदेशले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी ३ दिने सम्मेलन गर्न लागेको बारे जानकारी गराएको छ । नेपाल शल्यचिकित्सक समाज कोशी प्रदेशका अध्यक्ष प्रोपेसर डा. रोहित यादवका अनुसार , सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियाका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सकहरूको सहभागिता रहने छ । ‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि , नवप्रवर्तन, प्रविधि र सहकार्य’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनलाई केन्द्रिय समाज काठमान्डौँले सहकार्य गर्दैछ ।
सम्मेलनमा शल्यक्रियाका नवीन प्रविधि, कम चिरफारबाट गरिने उपचार पद्धति, बिरामी सेवाको गुणस्तर सुधार तथा चिकित्सा क्षेत्रमा भइरहेका नयाँ अनुसन्धानबारे छलफल हुने जनाईएको छ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो दिन मंसिर १० गते तीनवटा पूर्वसम्मेलन कार्यशाला आयोजना गरिनेछ। कार्यशालामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया र मलद्वारसम्बन्धी रोगको उपचारबारे व्यावहारिक तालिम प्रदान गरिनेछ। यसैगरी पेटको क्यान्सर तथा कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञहरूसँग अन्तरक्रिया हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । त्यसैगरी मंसिर ११ र १२ गते मुख्य वैज्ञानिक कार्यक्रम सञ्चालन हुनेछ । जसमा अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्रहरू समावेश हुने भएका छन् । सम्मेलनमा हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरीसम्बन्धी विषयमा छुट्टाछुट्टै वैज्ञानिक सत्र सञ्चालन हुनेछन्। त्यस्तै, रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगजस्ता नवीनतम विषयमा समेत छलफल गरिनेछ ।

कार्यक्रमअन्तर्गत ल्याप्रोस्कोपिक शल्यक्रियासम्बन्धी सीप प्रतियोगिता ‘एमआईएस च्याम्पियनसिप’ पनि आयोजना हुनेछ। युवा शल्यचिकित्सक तथा आवासीय चिकित्सकका उत्कृष्ट अनुसन्धानपत्र र पोस्टरलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। सम्मेलनले अनुभवी र युवा शल्यचिकित्सकबीच ज्ञान तथा अनुभव आदानप्रदानसँगै सहकार्य विस्तार गर्ने र नेपालमा शल्यचिकित्सा सेवाका चुनौती तथा सम्भावनाबारे राष्ट्रियस्तरमा बहस गर्ने लक्ष्य राखेको छ । नेपाल शल्यचिकित्सक समाजले सम्मेलनमा सहभागी हुन नेपाल तथा विदेशमा कार्यरत सम्पूर्ण शल्यचिकित्सक, प्राध्यापक, आवासीय चिकित्सक, अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।