विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ७, बरमनियाँमा २०४८ सालमा जन्मिएका हुन्, युवा उद्यमी सरोज नेपाल ।
नेपाल बाल्यकाल देखि नै कृषि कर्मलाई निक्कै रुचाउँथे । कक्षा १०मा बढ्दै गर्दा कृषिमा केही गरौँ भनेर उनी गाउँको दुध खरिद गरेर बजारसम्म पुर्याउने काम गर्थे । कसैले दुधको खोजी गर्दा उनले गाउँका किसानले उत्पादन गरेको दुध खरिद गरेर माग अनुसारको दुध पुर्याउने काम गर्थे । उनले बर्मनीका गाउँका किसानले उत्पादन गरेको दुध खरिद गर्थे अनी खनारमा रहेको रिलायन्स उद्योगको क्यान्टीनसम्म पु¥याएर बिक्री गर्थे । उनले त्यो दुध पुर्याए वापत ५ रुपैयाँ प्रति लिटरका दरले पैसा पाउँथे । त्यहीँबाट शुरु हुन्छ उनको कृषि कर्म प्रतिको आकर्षण र संघर्ष ।
त्यसपछि उनले कक्षा ११ मा पढ्दै गर्दा छिमेकीसँग मिलेर गाउँमै कुखुरा फर्म खोले । उनको त्यो बेला एक हजारसम्म कुखुरा थिए । तर कुखुरा पालन गरेको एक बर्ष नहुँदै उनले त्यो पेशा पनि छाड्नु पर्यो । कारण थियो, रोगको प्रकोप तथा उत्पादनमा आएको गिरावट । त्यो क्रमसँगै उनले कक्षा १२ मा पढ्दै गर्दा साना हाते ट्याक्टर किनेर गाउँका ब्यक्तिका खेत जोत्दै हिड्न थाले । १ लाख ३० हजारमा किनेको हाते ट्याक्टरले नेपाललाई खासै फाईदा गरेन । २ बर्ष जति जेनतेन चलाएका उनले प्राबिधिक ज्ञान नहुँदा बेचिदिए । त्यो काम गर्दै गर्दा उनको पढाईमा समेत असर परेको सरोजले सुनाए । देश मै केही गरौँ भनेर लागेका सरोजको लागि गर्न लागेका सबै पेशाहरुमा असफलता हात लागेपछि उनी बैदेशिक रोजगारीको सिलसिला लागे ।
यात्रा बैदेशिक रोजगारीको
सरोजलाई आफ्नै गाउँमा केही गरौँ भन्ने थियो । सरोज २०७० सालमा नेपालमा आफुले केही गर्न बिदेश गएका हुन् । घर परिवारको जेठो छोरा भएको कारण असफलता मात्र हात लागेपछि उनी भाई बहिनीलाई पढाउन र बुबाआमालाई सहयोग गर्न भन्दै हातमा पासपोर्ट लिएर युएईको दुबई हानिए । दुबईमा गएर पनि उनलाई चित्त बुझेन । अर्काको देशमा भनेको जस्तो के हुनु, उनले त्यहाँ कष्टोमर केयरको रुपमा काम गर्थे ।
विदेशमा राम्रो कमई होला र घरमा बुबा आमालाई सहयोग होला भन्ने सोचेका थिए । त्यो भन्दा अघि नै बुबा बिदेश जाँदा पाएको दुख देखेका उनको लागि बिदेश पनि त्यती चित बुझाई भएन । भनेको जस्तो कमाई नभएपछि उनलाई त्यहाँ बस्नै मन लागेन । उनले भने, ‘आफुलाई आफैँले वेचेको जस्तो लाग्ने, अरुको नियन्त्रणमा बसेको महसुस भएपछि फर्किने योजना बनाएँ ।’ त्यो बेलासम्म गाउँमा भाईहरुले च्याउ खेती र च्याउको बिउ उत्पादन गर्ने भनेर काम गर्न थालेका थिए, त्यो पनि सरोजकै सल्लाहमा । विदेशमा बस्नु भन्दा भाईहरुले शुरु गरेको काममा सहयोग गर्ने र नेपालमा नै केही गर्ने उदेश्यले नेपालबाट गएको झण्डै १४ महिना पछि पुन ः नेपाल नै फर्किएको उनले सुनाए ।
च्याउ खेती यात्रा
उनी गाउँ त फर्किए तर उनका पछि निक्कै ठुला चुनौती थिए । भाईहरु सुरज नेपाल र जीवन नेपालले शुरु गरेको च्याउ खेती र च्याउको बिउ बनाउने प्रबिधिको बारेमा अनभिज्ञता । उनका भाई जीवन नेपालले काठमार्डाँमा क्रिकेट सिक्न जाँदाको समयमा च्याउको बिउ बनाउने प्रबिधी सिकेका थिए । त्यही सिकोको आधारमा शुरु भएको च्याउको बिउ उत्पादन र च्याउ खेतीलाई बढाउँदै जानु उनको जिम्मेवारी थियो । तीन दाजुलाईले लो टेक प्रबिधिबाट च्याउको बिउ बनाउन थाले । तर बनेका बिउहरु सफल नहुने र सफल भईहाले पनि गुणस्तर नहुँदा बिक्री बितरणमा निक्कै समस्या भयो ।
यही प्रक्रिया ३ बर्षसम्म चलेपछि यी तीन दाजुलाईलाई यो पेश नगर्ने भन्ने लाग्न थाल्यो । तर उनीहरु यही पेशलाई बलियो बनाउनु पर्छ भन्नेमा थिए । असफलताका बिच सफल गराउन लाग्दै गर्दा भएको १६ कठ्ठा जग्गा पनि बिक्री गर्नु परेको सरोजले सुनाए ।
भएको खेती बिक्री गरेको, अनी ब्यवसायमा सफल नभएपछि गाउँकाले उनीहरुलाई गाली गर्न थाले अनी बरु बिदेश नै गए राम्रो कमाई हुन्छ भन्दै सबैले भन्न थालेपछि उनीहरुले केही समय ल्याव नै बन्द गराए । तर यही बिचमा थप प्रबिधिको खोजी गर्दै सरोज जिल्ला कृषि विकास कार्यालय हुँदै कृषि विकास मन्त्रालयसम्म पुगे तर पार लागेन । कृषिले दिने प्रबिधि भन्दा राम्रो आफ्नै हो की भन्नेमा पुगे र पासपोर्ट हातमा बोकेर फेरी विदेश जाने चक्करमा लागे । तर पछि सुन्दर दुलारी नगरपालिकाका कार्यकारी अधिकृत सुबर्ण घिमिरेले केहीगर्ने युवा उद्यामीलाई प्रोत्साहन गर्ने भनेर कुनै कार्यक्रम भनेको सरोजले थाहा पाएर र आफ्ना कुरा ति कार्यकारी अधिकृतलाई सुनाए । उनको कुरा सुनेर ति अधिकृतले २ लाख ८० हजार सहयोग गर्ने बचन दिएसँगै यी दाजुभाईमा थप केही गर्न सकिन्छ भन्ने उर्जा भयो र फेरी त्यही कामलाई परिस्कृत गर्दै शुरु गरे ।
पहिला भारतबाट बिउ उत्पादनका लागि मास्टर सिड ल्याएर त्यसलाई मल्टिप्लाई गरेर बिउ बनाउने गरिन्थ्यो । त्यो प्रबिधिबाट माथि उठेर नयाँ प्रबिधिबाट च्याउको बिउ उत्पादन शुरु गरेसम्ग्ै ब्यवसायीक रुपमा च्याउको बिउबाट फाईदा हुन थालेको सरोज बताउँछन् । ‘ जग्गा बेचेर लगानी गर्दा नेपालका छोराहरु सडकमा आए भनेर गाली गर्ने समाजले अहिले हामीले गरेको कामको प्रचार गर्न थालेका छन्, सारोजले भने, गर्न सक्दा र प्रबिधि जान्दा फाईदा हुने रहेछ भन्ने सिकाई भएको छ ।’
आम्दानीमा विदेशलाई चुनौती
पैसा कमाउनको लागि विदेश नै जानु पर्छ भन्ने मान्यतालाई तोडेका यी तीन दाजुभाईले आफ्नै घरमा बसेर राम्रो आम्दानी गरेका छन् । बिउ, प्रबिधि, कर्मचारीको खर्च ब्यवस्थापन तथा घरभाडा लगायतका आन्तरिक खर्च कटौती गरेर मासिक २ बढी आम्दानी गर्दै आएको सरोजले बताए । घरका ९ जनाको परिवारलाई चलाउँदै मासिक १ लाख बढी बचत गर्न सफल नेपाल परिवार अहिले प्रदेश १ को नै उदाहरणीय कृषि ब्यवसायी भएका छन् ।
पुरस्कार र सम्मानले हर्षित
कृषि कर्म गरेको झण्डै ६ बर्षको अबधिमा तीन दाजुभाईले कृषि कर्ममा राम्रो उपलब्धी मात्र गरेका छैनन् ठुला ठुला सम्मान समेत हात पारेका छन् । केन्द्रीय कृषि सहकारी लिमिटेडबाट उत्कृष्ट युवा उद्यमी राष्ट्रिय पुरस्कारप्राप्त गरे । त्यस्तै केन्द्रीय साना किसान बैंक लिमिटेड, केन्द्रीय साना किसान सहकारीबाट सम्मान, जिल्ला युवा परिषदबाट उत्कृष्ट युवा उद्यमी पुरस्कार लगायतका बिभिन्न संघ संस्था तथा आफैले अध्ययन गरेको जुपिटर स्कुलले समेत पुरस्कृत गरेको छ । ‘यसबाट हामीलाई हौसला मिलेकोछ, सरोज भन्छन्, आगामी दिनमा मैले लिने नयाँ काममा उर्जा थपेको छ ।’
उनले आगामी दिनमा मोरङमा नै यार्सागुम्बा उत्पादनको तयारी शुरु गरेको बताएका छन् । उत्पादन राम्रो गर्न सके नेपालमा भन्दा सिंगापुर, कोरिया र जापान जस्ता देशहरुमा माग रहेकाले ति देशहरुमा पुर्याउन सके राम्रो कमाई हुने र धेरैले रोजगारी पाउने छन् । उनले त्यसैलाई लक्षित गरि उत्पादन गर्न लागेको यार्सागुम्बा सफल भएमा केन्द्रीय संकलन केन्द्र निर्माण गरि विदेश निर्यात गर्ने लक्ष्य राखेका छन् । सुमन सुस्केरा/ आवर विराटनगर