अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने मात्र होइन, अब दिनेलाई पनि निगरानी गर्न थाल्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने मात्र होइन, अब दिनेलाई पनि निगरानी गर्न थाल्यो

ईश्वरचन्द्र झा

काठमाडौँ, भदौ १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने मात्र होइन, अब दिनेलाई पनि निगरानी गर्न थालेको छ । केही महिनायता घुस दिनेहरूमाथि निगरानी बढाएको नतिजा पनि देखिन थालेको छ । भदौ महिनामा मात्रै दुई जना घुस दिन पुगेका सेवाग्राही पक्राउ परेका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वैशाखदेखि भदौ दोस्रो सातासम्म घुस दिने पाँच जना पक्राउ परेका छन् । पाँचै जनालाई आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको छ । घुस दिनेले कामको प्रकृति हेरेर १० हजारदेखि सात लाख रुपियाँसम्म बुझाउन पुग्दा आयोगको नियन्त्रणमा परेका हुन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ ले घुस लिने र दिने दुवैलाई सजायको व्यवस्था गरेको छ । ऐनले घुस लिने र दिने दुवैलाई कसुरबमोजिम समान सजायको व्यवस्था गरे पनि विगतमा आयोगले घुस लिनेहरूलाई मात्रै लक्षित गरी ‘स्टिङ’ चलाउँदै आएको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यकारी निर्देशक आशिष थापा भन्नुहुन्छ, “भ्रष्टाचार नियन्त्रण गर्ने हो भने लिने र दिने दुवैलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । ” ट्रान्सपरेन्सी इन्टरनेसनल विश्वव्यापी भ्रष्टाचारको मात्रा र अवस्था अध्ययन गर्ने अन्तर्राष्ट्रिय निकाय हो ।
निर्देशक थापा भन्नुहुन्छ, “घुस दिएपछि जे पनि मिल्ने र घुस नमागी नै दिने सामाजिक चलन र परम्पराले भ्रष्टाचार फस्टाएको हो । ” निर्देशक थापाको भनाइलाई घुस लेनदेनको केही प्रकरणले पनि प्रस्ट्याउँछ । आयोगले विशेष अदालत, काठमाडौँमा भदौ १५ गते दायर गरेको मुद्दामा दुई जना ट्राफिक प्रहरीमाथि सजायको माग गरेको छ । उक्त प्रकरणमा आयोगले ट्राफिक प्रहरी दुई हजार रुपियाँ र एक हजार दुई सयको रिचार्ज कार्ड लिँदै गर्दा पक्राउ परेको दाबी गरेको छ ।

समाजमा कानुनी शासन पालना गराउने निकायका अधिकारीलाई घुस दिन पुग्नु, ती अधिकारीले सहजै घुस स्वीकार गर्नु वा घुस दिन दबाब दिनु जस्ता कार्य भ्रष्टाचारको बेथिति दर्शाउन पर्याप्त छन् ।
तर कानुन व्यवसायी सुनील पोखरेल भने फरक मत राख्नुहुन्छ । पोखरेलले घुस लेनदेनमा सजायको व्यवस्थालाई लिएर भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ बाझिएको बताउनुहुन्छ ।
ऐनको परिच्छेद–२ को दफा ३ को उपदफा १ र ३ ले घुस दिनेको कसुर हेरी सजायको व्यवस्था निर्धारण गरेको छ । तर नियमावलीको विविध शीर्षकअन्तर्गतको दफा ३० को उपदफा १ र २ ले घुस दिनेको सजाय छुटको व्यवस्था गरेको छ । आयोगले भने उक्त व्यवस्थालाई भ्रष्टाचार दुरुत्साहनसित जोडेर व्याख्या गर्छ ।

नियमावलीले सेवाग्राहीबाट कर्मचारीले घुस मागेको सन्दर्भमा उजुरी गरेपछि आयोगसँगको समन्वयमा कर्मचारी पक्राउ गरिए घुस दिने सेवाग्राहीको सजाय छुट हुने व्यवस्था गरेको छ । उक्त व्यवस्थाबाहेक घुस दिने व्यक्ति पक्राउ परे पनि अनुसन्धानमा सहयोग गरे वा साक्षी बसे सजायमा पूर्ण छुट हुने व्यवस्था गरेको छ । पोखरेलले ऐन र विनियमावली बाझिएकोबारे सर्वोच्चमा मुद्दासमेत परेको बताउनुभयो । यद्यपि उहाँ घुस लिनेसँगै दिनेलाई प्राथमिकतामा राखेर कारबाही गरिए मात्रै केही हदसम्म सुशासन कायम हुन टेवा पुग्ने तर्क गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्