मुख्यमन्त्रीको प्रश्न: सिक्सलेन सडक निर्माण किन रोकियो? हरेक तिन महिनामा प्रगती देखिनु पर्ने

मुख्यमन्त्रीको प्रश्न: सिक्सलेन सडक निर्माण किन रोकियो? हरेक तिन महिनामा प्रगती देखिनु पर्ने

विराटनगर । रानी–विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो। तर, विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट अझै देखिएको छैन। सडक निर्माणसँग सम्बन्धित सबै पक्षले आफूले काममा तदारुकता देखाएको भनेको भए पनि काम ढिलाइ हुनुमा भने एकले अर्कालाई दोषारोपण गरिरहेका छन्।

सडक निर्माणको काम ढिलाइ हुँदा सडक अव्यवस्थित छ। धूलो र धूवाँले सर्वसाधारण आजित छन्। यही विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरोकारवाला सबैलाई बोलाएर सडक निर्माणको काम छिटो गर्न निर्देशन दिए। रानी विराटनगर इटहरी धरान सडक योजना प्रमुख, विद्युत् प्राधिकरण, खानेपानी, नेपाल टेलिकम, सम्बन्धित स्थानीय तह इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिकाका प्रमुख तथा निर्माण व्यवसायीलाई एकै ठाउँ राखेर उनले यस्तो निर्देशन दिएका थिए।

उनले जनताले अनुभूति हुने गरी काम नभएको हुँदा किन त्यस्तो भएको हो र अब त्यस्तो भए जनताले छुट नदिने भन्दै तदारुकताका साथ काममा लाग्न आग्रह गरे। २०७६ सम्ममा निर्माण सक्नुपर्ने ६ लेन (५० मिटर) सडक निर्माणको काममा विद्युत् पोल नसर्दा काममा ढिलाई भएको निर्माण व्यवसायीको भनाइ छ।

यस्तै साइट क्लियर नभएको, भएको ठाउँमा पनि काम गर्न जाँदा सर्वसाधरणको घर तोड्नुपर्ने हुँदा अवरोध भएको पुरानै गुनासो निर्माण व्यवसायीको छ। यता, विद्युत् प्राधिकरणले भने आफ्नो काम विद्युत् पोल सार्ने जिम्मामा नरहेको स्पष्ट पारेको छ। प्राधिकरण प्रदेश १ कार्यालय विराटनगरका प्रमुख श्रीप्रसाद पाण्डेले पोल सार्ने काम सडक विभागको भएको बताए। निर्माणको समयमा लाइन कट्ने अवस्थामा पनि समय अनुसार नहुँदा सर्वसाधारणमा समस्या भइरहेको उनको भनाइ छ।

यता, रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्माले भने निर्माणाधीन आयोजना राष्ट्रिय गौरवको भनिए पनि सोही अनुसार बजेट विनियोजन नहुँदा केही समस्या भएको बताए। उनले कतिपय ठाउँमा अझै ठेक्का लागिनसकेको जानकारी दिए। शर्माले विद्युत् पोल सार्नु पर्ने प्रक्रिया नमिलेको, रुख काट्न अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रिया भएको र इटहरीदेखि दक्षिणको ट्यांग्रा खोला डाइभर्सन गर्नुपर्ने र दुहबीमा मुआब्जा दिनुपर्ने बाध्यात्मक परिस्थितिका कारण काम ढिलाइ भएको पनि बताए।  विराटनगरदेखि धरानको सडकमा अहिले पनि निर्माणको काम भइरहेको छ। ढल नाला निर्माणको काम धेरै ठाउँमा सकिएको छ।

अब सडकका साइडमा रोडा भर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम बाँकी छ। ३३ किलोमिटर क्षेत्रमा अहिले १३ वटा विभिन्न ठेकेदार कम्पनीले ठेक्कामा काम गरिरहेका छन्। विद्युत् पोलबाहेक अन्य सानातिना समस्याले पनि आयोजना समयमै सम्पन्न गर्न सकस परिरहेको छ। कूल १० अर्बको यो आयोजना उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले थालेको हो। यो आयोजना सम्पन्न भए पूर्वकै मुहार फेरिने अपेक्षा छ। अन्तरसरकारी कार्यालयले आवश्यक छलफल र परामर्शका आधारमा सडक निर्माणको कामलाई अवरोध भए पन्छाउन मुख्यमन्त्री कार्यालयले गरेको यो प्रयास सह्रानीय रहेको सरोकारवालाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्