विराटनगर । घरबाट स्कुल जाँदै गरेकी एक छात्रा माथी शुक्रवार बिहान बीरगञ्जमा एसिड प्रहार भएको छ । दुई जनाको संख्यामा रहेका युवाहरुको समुहले बाटोमा हिँड्दै गरेकी ती छात्रालाई एसिड छ्यापेर गरि गम्भीर घाईते बनाएका हुन् । बीरगञ्ज छपकैयाकी १५ वर्षिय मुस्कान खातुन माथी एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।
ती युवाहरुको समुहले बीरगञ्ज महानगरपालिका ६ गणेशमान चोक, छप्कैया स्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ती छात्राको अनुहारमा एसिड छ्यापेका थिए । एसिड प्रहारबाट ती छात्राको देब्रे पट्टीको भाग पुरै जलेको छ ।
हाल उनको बिरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । स्थानीय सम्साद मियाँ र माजिद आलमले मुस्कानलाई एसिड प्रहार गरेका थिए । एसिड छ्यापेर फरार भएका दुबै जना युवाहरु मध्ये सम्साद मियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ भने अर्का फरार माजिद आलमको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।