साइकल वितरणपछि विद्यालयमा बालिकाको ओइरो

<span class='c1'>साइकल वितरणपछि विद्यालयमा</span> <span class='c2'>बालिकाको ओइरो</span>

राजविराज । प्रदेश २ सरकारले छात्रालाई लक्षित गरी साइकल बितरण थालेपछि सप्तरीका विद्यालयहरुमा छात्राहरुको संख्या ह्वातै बढेको छ ।
छोरीहरुलाई पढाईमा प्रोत्साहन गर्न मुख्यमन्त्री लालबाबु राउतले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान चलाएर साइकल बितरण सुरुवात गरेपछि विद्यालयहरुमा छात्राहरुको संख्या ह्वातै बढ्न थालेको हो ।

छोरीलाई कमै विद्यालय पठाउने प्रदेश २ मा विद्यालय जान प्रोत्साहनका लागि प्रदेश सरकारले मुख्यमन्त्री “बेटी बचाऊ, बेटी पढाऔं” अभियानका लागि २० करोड बिनियोजन गरेपछि अहिले सो रकमबाट साईकल खरीद गरि धमाधम छात्राहरुलाई बितरण गर्न थालिएको छ ।

सप्तरीमा अहिलेसम्ममा विभिन्न विद्यालयमा गरि झण्डै २ हजार ३ तीन सय छात्रालाई साइकल बितरण गरिसकिएको शिक्षा विकाश तथा समन्वय ईकाई कार्यालयको तथ्याङ्कले देखाएको छ । शनिबार पनि यसलाई निरन्तरता दिँदै अभियान अन्तरगत सदरमुकाम राजविराजस्थित श्री केशो अनिरुद्धबत्ति माध्यमिक विद्यालयका ५२ जना छात्रालाई प्रदेश सभा सदस्य एवं राजपाका महासचिव मनिष कुमार सुमनले साइकल बितरण गरेका छन् ।

“बेटी बचाऊ, बेटी पढाऔं, बेटीलाई स्वाबलम्बन बनाऔं” भन्ने मूल नारा तथा छोरीलाई विद्यालय पठाउन अनुरोधसहित सुरु गरिएको साइकल बितरण कार्यक्रममा अभिभावकहरुको पनि उल्लेख्नीय सहभागिता रहेको थियो । साइकल बितरण गर्दै सुमनले तराईका जिल्लामा छोरीलाई हेला गर्ने, बालबिबाह गरिदिने, छोरीलाई विद्यालय नपठाउने जस्ता प्रथा कायमै रहेकाले यसको न्युनिकरणका लागि प्रदेश सरकारले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान ल्याएको बताउँदै यसमा सबै अभिभावकको साथ र सहयोग आवश्यक रहेको जनाए ।

छोरीलाई उच्च शिक्षा हासिल गराउन सके सभ्य समाज निर्माण हुने उनको भनाई थियो । छोरीलाई शिक्षित र समाजमा उचित सम्मान दिन प्रोत्साहन स्वरुप साइकल प्रदान गरिएको बताउँदै उनले पहिलादेखी नै महिलालाई दबाउन कमजोरको उपमा दिइएकाले अब त्यो परम्परालाई तोड्न महिलाहरु शिक्षित भएर हरेक क्षेत्रमा अगाडी बढ्न शिक्षित हुन आवश्यक रहेकोमा जोड दिए ।

श्री केशो अनिरुद्धवत्ति माविकी सहप्रधानाध्यापक निलम मिश्राले विद्यालयहरुमा छोरीको संख्या घटदै गइरहेका बेला प्रदेश सरकारको अभियानले छोरीहरुको विद्यालयतर्फ आकर्षण एक्कासी बढेको बताइन् । उनले भनिन्, “अभियानकै कारण अहिले विद्यालयमा भर्ना हुन आउने छोरीको संख्या ह््वातै बढेको छ । नयाँ भर्ना हुनेको संख्या मात्र बढेको छैन्, पहिलादेखी अध्ययनरत बालिकाहरु पनि अहिले नियमित विद्यालय आउन थालेको छ ।”

यता साइकल पाएपछि छात्राहरु पनि निकै उत्साहित देखिएका छन् । स्थानिय केशो अनिरुद्धवत्ति मावि कक्षा ८ मा अध्ययनरत छात्रा मनिषाकुमारी खंगले साइकल पाएपछि नियमित विद्यालय जान हाँैसला मिलेको बताइन् । अर्का छात्रा गजाला प्रविणले घरबाट विद्यालय टाढा पर्ने तथा अभिभावकको ज्यालाले दश हजार खर्चेर साइकल खरीद गर्न असमर्थ रहेका बेला निशुल्क रुपमा साइकल पाउँदा निकै खुशी लागेको बताइन् ।

घरबाट टाढा पर्ने र आमा बाबुको आर्थिक हैसियतले साइकल खरीद गर्न असमर्थ अति विपन्न छात्रालाई पढाईमा सहजता तथा उनीहरुको शिक्षामा पहुँच बृद्धि गर्ने उद्देश्यले प्रदेश २ सरकारले ल्याएको “बेटी बचाऊ, बेटी पढाऔं” अभियान अत्यन्त प्रभावकारी भएको भन्दै स्थानिय अभिभावक र बेद्धिजिविले यसलाई निरन्तरता दिनु पर्ने सुभाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्