विराटनगरमा विद्युत् आपूर्ति अनियमित हुँदा उपभोक्ता मारमा

विराटनगरमा विद्युत् आपूर्ति अनियमित हुँदा उपभोक्ता मारमा

विराटनगर । विराटनगरमा विद्युत् आपूर्ति अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । विराटनगर–धरान ६ लेन सडक र विराटनगर बजारभित्रको सडकको पोल सार्न दिनभर विद्युत् आपूर्ति बन्द गरिँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणले बेलुका ५ बजेपछि मात्र विद्युत् दिने गरेको छ ।

गत शुक्रवार साँझ विराटनगर–५ स्थित त्रिमूर्ति चोकको ट्रान्सफर्मरमा आगलागी हुँदा रातभर विद्युत् आपूर्ति हुन सकेन । बुधवार पनि पञ्चमुखी चोकको ट्रान्सफर्मरमा आगो लागेकाले राति ९ बजेतिर मात्र विद्युत् सुचारु भयो । उपभोक्ताले दिनहुँ यस्ता समस्या सामना गर्दै आएका छन् ।

‘दिनभर विद्युत् आपूर्ति बन्द हुँदा उपभोक्ताले रातमा इन्भर्टर चार्ज गर्ने, पानी तान्ने लगायत विद्युत खपत हुने सबैजसो काम गर्छन्,’ नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण कार्यालयका निमित्त प्रमुख रवीन्द्र दासले   भने, ‘विद्युत्को तारले लोड थाम्न सक्दैन र ठाउँ ठाउँमा तार पग्लेर चुँडिने गरेका छन् ।’ बजार क्षेत्रको विद्युत् तार र ट्रान्सफर्मरको क्षमता नबढाएसम्म समस्याको दिगो समाधान नहुने उनले बताए ।

दुहवी–रानी विद्युत् प्रसारण लाइनको सुधार पनि आवश्यक भएको दासले औंल्याए । उनका अनुसार विराटनगरमा मात्र विद्युत्का ७० हजारभन्दा बढी ग्राहक छन् । ‘साना ग्राहक बढ्दै जान्छन् । प्राधिकरणको वितरण प्रणालीको क्षमता र अवस्थामा सुधार छैन,’ उनले भने, ‘भौतिक संरचनाको अवस्था राम्रो नभईकन विद्युत् आपूर्ति सहज हुन सक्दैन ।’

मेची कोरिडोरबाट विद्युत् थपिएसँगै दशैंअघि नै सोलुबाट सय मेगावाट बराबर विद्युत् थप हुँदै छ । त्यसैले विद्युत् अभावका कारण लोडशेडिङ गर्नुपर्ने बाध्यता छैन । तर संरचनामा सुधार नहुँदा उपभोक्ताले सास्ती पाएका छन् । यद्यपि १ वर्षभित्रै करीब डेढ सय ट्रान्सफर्मर फेर्न लागिएको नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण कार्यालयले बताएको छ । अभियान दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्