विराटनगर । आईतबार विहान विराटनगरको कोवास कलेजको क्यान्टिनमा कामदारको रुपमा कार्यररत एक कर्मचारी माथि खुकुरी प्रहार भएको छ । विराटनगरका पप्पु अन्सारीले संचालन गर्दै आएको क्यान्टिनमा कार्यरत कर्मचारीलाई ३ जनाले खुकुरी प्रहरी गरी घाईते बनाएका छन् ।
विराटनगर १५ मिल्स एरिया पन्चवटी चोकका ३२ बर्षीय सागर महतोलाई आईतबार विहान ८ बजेको समयमा खुकुरी प्रहार भएको स्थानीयले बताए । शिक्षादिप कलेज छेउको गल्लीमा रहेको किराना पसलमा उनीहरुले महतो माथी खुकुरी प्रहार गरेका हुन् ।
महतो क्यान्टिनकालागि सामान लिन पसल गएको बेला आफू माथी खुकुरी प्रहार भएको घाईते महतोले बताए । महतोको दाँया हातमा खुकुरीको गहिरो चोट लागेको छ । त्यसैगरी ढाड र कम्बरमा पनि सामान्य चोट लागेको छ । महतोका न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
कोवास कलेजको क्यान्टिनमा काम गर्ने सागरलाई खुकुरी हान्नेहरु उनका साथीहरु नै भएको प्रहरी श्रोत बताउँछ । विराटनगर १२ का राजकुमार कामत, भवानी पासवान र साजन ठन्ठाल रहेको घाईतेकी आमा सुकुदेवी महतोले जानकारी दिईन् ।
३ जना मध्ये २ जना फरार छन् । उनीहरु मध्ये एक जनालाई मोरङ प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा चलाईसकेको छ । पक्राउ परेको व्यक्तिको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले फरार रहेका २ जनालाई खोजी गरिरहेको बताए ।फरार रहेकाहरुको खोजिकार्य भईरहेको डिएसपी श्रेष्ठले बताए ।
घाईते सागरले घटनाको बारेमा आफुलाई कुनै थाहा नभएको बताए । सागरका अनुसार, ‘घटना भएको दिन मलाई खोज्दै त्यहाँ पसलमा ढुकेर बसेका रहेछन् । मैले उनीहरुलाई पिट्छु भन्ने कुरा कसैले उनीहरुलाई सुनाईदिएको रहेछ, अनि त हामीलाई पिट्ने भन्दै खुकुरी निकालेर हान्न थाले, मलाई धेरै नै चोटपटक लागिसकेको थियो । अन्य मान्छेहरु आएर छुटाउन खोज्दा तिनीहरु भागिसकेका थिए ।’