विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै, तिहार अगावै नगरक्षेत्रका सडकसंग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
सोमवार र मंगलवार भएका अनुगमनका क्रममा मेयर पराजुलीले दशै, तिहार अगावै बजार क्षेत्रको सडक पिच गर्ने काम गर्न र ब्यवधान भएका स्थानको निकास निकाल्न निर्देशन दिएका हुन् । नगरका कतिपय स्थानमा तोकिएको मापदण्ड विपरित बनाइका घर, पर्खाल स्थानीयले नभत्काउदा सडकको ढल र नाला निर्माणमा ब्यवधान खडा भएको छ । कतिपय स्थानमा रहेका मन्दिर र धर्मशालाहरुका कारण समेत विराटनगरका सडकको काममा समस्या भईरहेको छ । विकासका काममा साना तिना कुराले ब्यवधान गरेको भन्दै मेयर पराजुलीले सडक बिस्तार र विकासका काममा कुनै सम्झौता नगरिने बताए ।
विराटनगरमा एशियाली विकास बैङको आर्थिक सहयोगमा मझौला शहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगत नगरको भौतिक सुधारको काम भएको छ । क्षेत्रीय शहरी विकास परियोजना अन्तरगतका काम पनि जारी रहेका छन् । परियोजनाका प्रमुख इन्जिनियर भरत न्यौपानेले महानगरभित्रका सवै निर्माणका काम सकिएपछि विराटनगरले नमुना सहको रुपमा परिरचय पाउने बताए । कतिपय स्थानमा भएका अवरोध चाँडै हटाउने बताए ।
अनुगमनका क्रममा क्षेत्रीय शहरी विकास परियोजना अन्तरगतका बिज्ञ कन्सलटेन्ड हरेराम मण्डल, वडाध्यक्षद्धय मधुवावु तिवारी र विश्वनाथ भगत, इन्जिनियर गोपाल पोखरेल, सामाजिक विकास अधिकृत पुनम दाहाल लगायत सहभागी थिए ।