नेपाली काँग्रेसको जागरण अभियान आजबाट सुरु गर्दै

नेपाली काँग्रेसको जागरण अभियान आजबाट सुरु गर्दै

काठमाडौँ, भदौ २४ गते । नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान मङ्गलबारबाट सुरु गर्दै छ ।
काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियानअन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९८० बिरुवा रोपिने काँग्रेसले जनाएको छ । प्रवक्ता शर्माले ठूलो सङ्ख्यामा वृक्षरोपण गर्न स्थानीयस्तरमै बिरुवाको जोहो गरिएको जानकारी दिनुभयो ।

जागरण अभियानका लागि काँग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रवक्ता शर्माका अनुसार दोस्रो चरणको जागरण अभियानका क्रममा ३३० जना प्रतिनिधि परिचालन हुने छन् ।
प्रत्येक प्रदेशमा प्रदेशसभा निर्वाचन क्षेत्रबमोजिम प्रतिनिधि खटाइएको प्रवक्ता शर्माले बताउनुभयो । जागरणका लागि परिचालित प्रतिनिधिहरूलाई आफू प्रत्यासी भई चुनाव लडेको भन्दा पृथक
जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ ।

प्रवक्ता शर्माले जागरण अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रका अग्रज, शहीद परिवार, द्वन्द्वकालीन घाइते एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र काँग्रेसका लागि सुझाव लिने स्वरूप तय गरिएको बताउनुभयो । अभियानको अन्तिम दिन ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने तय गरिएको छ ।
नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङघलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध युवा तथा असङ्गठित युवाको सहभागितामा देश, लोकतन्त्र र काँग्रेसको आजको सन्दर्भमा खुला विचार सङ्कलन गरिने जनाइएको छ । काँग्रेसले ३३० प्रदेशसभा क्षेत्रमा दैनिक औसत तीन सय युवाका बीचमा बीपीका विचार र संस्कारबारे छलफल गर्दा १५ दिनभित्र करिब एक लाख युवासित प्रत्यक्ष संवाद गर्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्