विराटनगरमा मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा पाँच जना घाइते

विराटनगरमा मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा पाँच जना घाइते

विराटनगर । मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा विराटनगरमा पाँच जना युवा घाइते भएका छन् । विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा सोमबार राती प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदै र नचाउँदै मुस्लिम युवाहरुले मोहर्रम पर्व बनाएका थिए । सोही क्रममा युवाहरु घाइते भएका हुन् । घाइते हुनेमा विराटनगर–९ का १९ वर्षीय रजक खान, मोहम्मद अजाद, विराटनगर–८ का १८ वर्षीय मोहम्मद राज, २१ वर्षीय मोहम्मद मसिम र २२ वर्षीय मोहम्मद अस्लम रहेका छन् ।
टाउको, चिउँडो लगायत शरीरका विभिन्न भागमा हतियारले काटेर चोट लागेका उनीहरुलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले घटनाका बारेमा जाहेरी वा उजुरी नपरेको बताए ।
हतियार प्रदर्शन गरेर पर्व मनाउने क्रममा युवाहरु घाइते हुन थालेपछि कार्यक्रम भने बन्द गरिएको थियो । डिएसपी श्रेष्ठले पर्व मनाउँदा तरवार प्रदर्शन गर्ने क्रममा केही युवा घाइते भए पनि जाहेरी नपरेका कारण घटनाको आधिकारिक रेकर्ड प्रहरीमा नरहेको स्पष्ट पारे ।
धार्मिक मान्यताअनुसार पर्व मनाइएकाले जनजीवन आतंकित पार्ने गरी हतियार प्रदर्शन गर्दा र नचाउने काम हुँदा पनि प्रहरीले रोक्ने गरेको छैन । मुस्लिम युवाहरुले पर्वका अवसरमा प्रत्येक वर्ष तरवार, खुँडा, भाला लगायतका घरेलु हतियार लिएर ‘फाइटिङ स्किल’ प्रदर्शन गर्छन् । त्यही क्रममा चोट लागेर विराटनगरमा केही युवा घाइते हुन पुगेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
पर्व मनाउने क्रममा मुस्लिम युवाहरुले खुलेआम हतियार प्रदर्शन गर्दा जनजीवन भने आतंकित हुने गरेको छ । युवाहरु बीचमै हतियार हानाहान गरिरहेको देखिने दृष्यले झन् त्रास उत्पन्न गराउने गरेको छ ।
एउटाले हतियार प्रहार गर्न खोज्ने र अर्कोले बचाउने क्षमता एवं कला प्रदर्शन गरिने गरिन्छ । मुस्लिम पात्रोअनुसार हिजरी संवत १४४१ को मोहर्रम महिनाको १० तारिखमा यो पर्व धुमधाम मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्