बिराटनगरबाट सुन भन्दै ठगी गर्ने ज्वेलर्स सञ्चालक समातिए

बिराटनगरबाट सुन भन्दै ठगी गर्ने ज्वेलर्स सञ्चालक समातिए

विराटनगर भदौ २५ ,

सुन भन्दै ठगी गर्ने ज्वेलर्स सञ्चालकलाई प्रहरीले विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार रहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । साहले मोरङको बूढीगंगा गाउँपालिका–२ मा सञ्चालन गरेको गणेश लक्ष्मी ज्वेलर्स नामक सुन पसल छ । श्रेष्ठका अनुसार साहले विभिन्न मिति र समयमा नक्कली सुनका गहनालाई सक्कली सुन भन्दै बिक्री गर्ने गरेको खुलेको छ ।

सर्वसाधारणलाई विश्वासमा पारेर झुक्याउँदै नक्कली सुनका गहनालाई सक्कली भनेर ठगी गर्ने गरेको पाइएपछि पक्राउ गरिएको उनको भनाइ छ । पछिल्लो समय साहले खड्गबहादुर श्रेष्ठलाई नक्कली सुनका दुईवटा बाला, दुईवटा औंठी, एउटा बेरुवा औंठी, सातवटा टप, १० वटा कुण्डल र जुलीसमेत सक्कली सुनको हो भन्दै ठगी गरेको जानकारी श्रेष्ठले दिए । उनकाअनुसार श्रेष्ठसँग साहले तत्काल एक लाख ४० हजार रुपैयाँ लिएको पनि खुलेको छ ।

ज्वेलर्स सञ्चालक साहले विभिन्न समयमा आठ जनामाथि आठ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परीक्षणका क्रममा सुनका गहना बनेर भनेर बिक्री गरिएका वस्तु सुनको नभएको खुलेको डीएसपी श्रेष्ठले बताए । उनकाअनुसार साहका विरुद्ध हालसम्म आठ जनाले उजुरी दिएको र अन्य उजुरी आउने क्रम जारी छ । उनी विरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्