विराटनगर । बाल दिवसको अवसर पारेर विराटनगर महानगरपालिकामा बालबालिकासँग मेयर कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिका र बालक्लब संजालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै बालबालिकाहरुले आफूहरुले झेलिरहनु परेका समस्या बताएका थिए । उनीहरुले बाटो निर्माण नहुदा तथा छाडा कुकुरका कारण समस्या झेल्नु परेको बताएका थिए ।
यस्तै कार्यक्रममा बोल्दै मेयर पराजुलीले आफ्नो पहिलो प्राथमिकता शिक्षा रहेको बताउदै अहिले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा लागेको बताए । उनले अहिले विराटनगरका १० वटा विद्यालयलाई नमुना विद्यालय बनाउन लागि परेको पनि जानकारी दिए । उनले सडक निर्माण तिव्र गतिमा भैरहेकाले चाडै समस्या समाधान हुने आश्वासन दिए। यस्तै कार्यक्रममा १ देखि १९ वटै वडाका बाल क्लबहरुलाई कार्यक्रम संचालन गर्न सहज होस् भनेर साउन्ड बक्स वितरण गरिएको छ ।
सोही अवसरमा बाल सेवा आश्रमलाई खाद्यान्न सहयोग रकम हस्तान्तरण , उत्कृष्ट ३ वटा वाड बाल क्लब सन्जाललाई सम्मान एवं प्रसंशा पत्र बितरण गरिएको छ । त्यस्तै साँस्कृतिक नृत्य र गायन प्रस्तुती र प्रमाणपत्र वितरण भएको विराटनगर महानगरपालिका बालबालिका शाखा प्रमुख दिल्ली धिमालले बताए ।