विराटनगर । कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानले शनिबार दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ बाट अग्रज साहित्यकार गणेश रसिक र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’बाट युवाकवि सुदीप पाख्रिनलाई सम्मान गरेको हो । अग्रज साहित्यकार एवं समाजसेवी युद्धप्रसाद वैद्य, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रमुख संरक्षण शोभा लामा बल, साहित्यकार दधिराज सुवेदी, केशव आचार्य, प्राज्ञ विवश पोखरेललगायतले दोसल्ला ओढाएर रसिक र पाख्रिनलाई सम्मानपत्र प्रदान गरे ।
सम्मानका साथमा रसिकलाई २५ हजार १ सय ११ र पाख्रिनलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । पाँच दशकभन्दा लामो समयदेखि साहित्य र गीत–संगीत सिर्जनामा सक्रिय रसिकका विभिन्न विधाका कृति प्रकाशित छन् । त्यस्तै युवाकवि पाख्रिन पनि दुई दशकदेखि नेपाली कविता लेखनमा सक्रिय छन् । नेपाली साहित्यमा योगदान पु¥याएबापत दुवैजना स्रष्टालाई नगदसहित सम्मान गरिएको प्रतिष्ठानका महासचिवसमेत रहेका प्राज्ञ विवश पोखरेलले जानकारी दिए ।
कार्यक्रममा कवि सीमा आभास, शुभलक्ष्मी लम्साल र दीपक शम्चुले वरिष्ठ कवि बलको कविता वाचन गरे । समारोहका प्रमुख अतिथिसमेत रहेका वैद्यले बल काठमाडौंभन्दा बाहिर बसेर पनि देश हल्लाउन सफल कविका रुपमा स्थापित भएको चर्चा गरे । पत्रकारसमेत रहेका कवि मीनकुमार नवोदित र साहित्यकार डा. विमला श्रेष्ठले वरिष्ठ कवि बल युवापुस्ताका प्रेरणा स्रोत भएको बताए । ‘भोलि बास्ने बिहान’ एउटै कवितासंग्रहबाट नेपाली कविता साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ कवि बलको २०६९ साल असार ११ गते निधन भएको थियो ।