कर छलीको अभियोगमा दुईजना उद्योगी जेल चलान

कर छलीको अभियोगमा दुईजना उद्योगी जेल चलान

कृष्णउदास खनाल, वीरगन्ज। कर छलीको अभियोगमा पर्साका दुईजना उद्योगी जेल चलान भएका छन्। ३१ करोड ६५ लाख ९ हजार १३२ रुपियाँधरौटी बुझाउन नसकी पर्साका दुई उद्योगी थुनामा गएका हुन्।

उदयपुर डिष्टिलरी प्रालि र जयश्री धौलागिरी डिष्टिलरी प्रालिका सञ्चालक दुई उद्योगी सो रकम बराबरको धरौटी बुझाउन नसकी थुनामा बस्न वीरगन्ज कारागार पुगेका हुन्।

एकै परिवारका दाजुभाइले पर्साको रामगढवामा सञ्चालन गरेको उदयपुर डिष्टिलरी र पर्साकै पोखरिया नगरपालिका ३ बसन्तपुरमा सञ्चालित जयश्री धौलागिरी डिष्टिलरी प्रालिले आन्तरिक राजस्व कार्यालय पर्साबाट लिएको अन्तःशुल्क स्टिकर हिनामिना गरेको अभियोगमा धरौटी माग गरिएको थियो।

तर, राज्यलाई ठगी गरी धरौटी रकम बुझाउन नसकेपछि दुवै उद्योगका सञ्चालकलाई थुनामा पठाइएको आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिनुभयो।

मदिरा उत्पादक दुवै कम्पनीले आन्तरिक राजस्व कार्यालय पर्साबाट खरिद गरी लगेका ४४ लाख १५ हजार ३५७ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो।

पाँच वर्षबाट राजस्व ठगी दुवै उद्योगका सञ्चालक शम्भुशरणप्रसाद कलवार र ओमप्रकाश कलवारले आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म अन्तःशुल्क स्टिकर हिनामिना गरी राज्यलाई कर छली गरेको अनुसन्धानमा देखिएको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ।

एकाघरका दाजुभाइसमेत रहेका कलवारहरूमध्ये ओमप्रकाश कलवार (भाइ) को नाममा रहेको उदयपुर डिष्टिलरीले २०७१/७२ देखि २०७५/०७६ सम्ममा ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरी राज्यलाई ठगी गरेको छ।

त्यसैगरी जयश्री धौलागिरी डिष्टिलरीले ७ लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ।

दुवै उद्योगका सञ्चालकमध्ये ओमप्रकाश कलवारको नाममा रहेको उदयपुर डिष्टिलरीसँग २६ करोड १६ लाख ७९ हजार ८४७ र शम्भु शरणको नाममा रहेको जयश्री धौलागिरीसँग ५ करोड ४८ लाख २९ हजार २८५ रुपियाँगरी कुल ३१ करोड ६५ लाख ९ हजार १३२ रुपियाँकर छलीको अभियोगमा धरौटी माग भएको हो।

दुवै डिष्टिलरीका उद्योगी कलवार दाजुभाइले सो धरौटी बुझाउन नसकेपछि आन्तरिक राजस्व कार्यालय पर्सा, वीरगन्जको निर्णयानुसार बिहीबारको थुनामा पठाइएको राजस्व कार्यालय पर्साका कर अधिकृत तथा यो मुद्दाका अनुसन्धान अधिकृत उदय केसीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्