‘उत्तेजित समूहले गर्दा उडानमा झन् ढिलाइ’ – बुद्ध एयरलाइन्स

‘उत्तेजित समूहले गर्दा उडानमा झन् ढिलाइ’ – बुद्ध एयरलाइन्स

काठमाडौँ, भदौ ३१ गते । विमानभित्रका उत्तेजित समूहका कारण पनि गत शनिबार नेपालगञ्जदेखि काठमाडौँको उडानमा ढिलाइ हुनपुगेको बुद्ध एयरलाइन्सले स्पष्ट पारेको छ ।
कम्पनीले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक पत्र लेख्दै उत्तेजित समूहले विमानभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई चार/पाँच मिनेटसम्म आक्रोश पोख्न थालेपछि उक्त समूहलाई साम्य बनाएर विमानको सिटमा बस्न आग्रह गर्दा उडानमा अझ ढिलाइ हुन पुगेको जनाएको छ ।
यसरी विमानभित्रै एकैचोटि चढेर एकै ठाउँमा उभिएर आक्रोश पोख्दा विमानको एकै भागमा धेरै वजन भएकाले विमानसमेत ढल्किएको कम्पनीले पत्रमा उल्लेख गरेको छ । मन्त्री भट्टराई विमान प्रवेश गर्नुअघि नै ६ बजेर ४० मिनेटमा विमान परिचारिकाको आग्रहविपरीत १४÷१५ जनाको समूह आक्रोशित भई विमान बाहिर निस्किएको पनि बुद्ध एयरले जनाएको छ । त्यसरी बाहिर निस्किएको समूहले कम्पनीका कर्मचारीसँग वादविवाद गरेको र ६ बजेर ५० मिनेटमा मन्त्री विमानतर्फ आउँदा थप आक्रोशित भई एकैपटक विमानभित्र प्रवेश गरेको उल्लेख छ । उक्त समूहले विमानभित्रै मन्त्रीलाई आक्रोशित भएर प्रश्न गरे पनि मन्त्री संयमित हुँदै चुपचाप विमानमा बस्नुभएको कम्पनीले स्पष्ट पारेको छ ।

गत शनिबार बुद्ध एयरको उडान नम्बर बीएचए ४०६ नेपालगञ्जबाट काठमाडौँ उडान गर्दा केही समय ढिलाइ भएपछि अहिले त्यसको चर्चा चुलिएको छ । बुद्ध एयरले काठमाडौँबाट नेपालगञ्ज उडान गर्दा नै २३ मिनेट ढिलाइ भई ६ बजेर २ मिनेटमा नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको जनाएको छ ।

कम्पनीका अनुसार नेपालगञ्जबाट ६ बजेर २५ मिनेटमा उडान गर्नुपर्ने तालिका भए पनि काठमाडौँस्थित बुद्ध एयरको उडान सञ्चालनले संशोधन गरेर ६ बजेर ४० मिनेटको समय निर्धारण गरेको थियो । यद्यपि नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखले ६ बजेर २५ मिनेटमै मन्त्रीसहितको टोली धम्बोजी आएको जानकारी फोनबाट दिनुभएको कम्पनीले पत्रमा उल्लेख गरेको छ ।
उक्त जानकारीपछि समयमै आइपुग्ने आशय बुझेपछि विमानका कर्मचारीले ६ बजेर ३० मिनेटमा बोर्डिङ गराए पनि फोनमा जानकारी गराएभन्दा केही समय ढिलामात्रै मन्त्रीसहितको टोली विमानमा प्रवेश गरेको कम्पनीले जनाएको छ । मन्त्रीसहितको टोली ६ बजेर ५० मिनेटमा विमानमा पुगे पनि उत्तेजित समूहका कारण अन्ततः ७ बजेर ४ मिनेटमा जहाज नेपालगञ्जबाट उडान गरेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले पनि आक्रोशित समूहलाई साम्य पारी उडान गरिएको जनाएको छ । उक्त घटनाप्रति मन्त्री भट्टराईले सबै यात्रुको बोर्डिङ भएको १५ मिनेटपछि आफूसहितको टोलीको बोर्डिङ भएको स्वीकार गरिसक्नुभएको छ ।
आइतबार प्रतिनिधि सभामा जवाफ दिने कार्यक्रम रहेकाले पनि शनिबारको बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौँ फर्कने योजना रहेको र फर्कने क्रममा बुद्ध एयरसँग अनुरोध गरेर केही ढिलो हुन पुगेको उहाँले जनाउनुभएको छ तर विमानस्थलमा केही व्यक्तिले आक्रामक रूपमा आफ्नोविरुद्ध प्रस्तुत भएको र उक्त समूहले पारसविरुद्ध हस्ताक्षर दरबारमा बुझाएर दुःख दिएको सुनेको र त्यसबाट उक्त समूहको नियमत प्रस्ट भएको उहाँले स्पष्ट पार्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्