विराटनगर । मोरङको धनपालथान गाउँपालिकमा बाँतर सरदार समुदायले जितिया पर्ब मनाएका छन् । नेपाल बाँतर सरदार समाज जिल्ला कल्याणकारी समितिको आयोजनमा जीतिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम भएको हो ।
धनपालथान गाँउपालिका वडा नम्बर ५ मा आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक नृत्य तथा मौलिक भेषभुषा प्रर्दशन गरिएको छ । पुर्वमन्त्री एवम् नेकपाका नेता शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश एकका उपसभामुख सरस्वती पोखरेल, गाँउपालिका प्रमुख हरीलाल सिंह लगायत सहभागि थिए ।
कार्यक्रममा बोल्दै उपसभामुख पोखरेलले मौलिक कला संस्कृतिलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याईन् । उनले चाडपर्वलाई मौलिक परम्परा अनुसार मनाउन आग्रह गरिन् , धनपालथान गाउँपालिकाका प्रमुख सिंहले जीतिया सिंगो मधेशी आदिवासी समुदायले मनाउन पर्व रहेकाले जीतियामा सार्वजनिक छुट्टी दिन माग गरे । सोही अवसरमा बिभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान गरिएको थियो । बाँतर समुदायका ब्रतालु महिलाहरु आज उपवास बसी भोली पारण गरेपछि मात्र ब्रत समापन हुने गयानन्द सरदारले जानकारी दिए ।
यसैबिच विराटनगर १२ पञ्चवटी चोकमा १४ औं जितिया तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । राजवशी महिला जितिया समितिद्धारा आयोजना गरिएको कार्यक्रममा गाँउ, टोल, तथा वडाका थारु, राजवशीं, अल्प संख्यक समुदायका महिलाहरुको सहभागितामा थियोे ।
राजवशीं महिला जितिया समाजको अध्यक्ष सुशीला राजवशींको अध्यक्षतामा र विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि वडा नं ११ र १२ का वडाध्यक्षद्धय तिर्थेन्द्र न्यौपाने, हिरालाल कामत थिए ।