ताप्लेजुङमा चिराइतोको कारोबार ठप्प

ताप्लेजुङमा चिराइतोको कारोबार ठप्प

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपका बुद्धिमान राईले जंगलबाट संकलन गरेको ७ मन चिराइतो गाई बाँध्ने गुवालीमा थन्क्याएको ८ महीना बित्न लाग्यो । अघिका वर्षहरूमा चिराइतो संकलन गरेरै सामान्य घर खर्च जुटाएका राई पछिल्लो पटक मेहनत गरेर संकलन गरेको चिराइतो किन्न कोही व्यापारी नपुगेपछि निराश छन् ।

यता सिरिजंघा गाउँपालिकाका रामबहादुर गुरुङले समेत मंसिरमा जम्मा गरेको चिराइतो अहिलेसम्म घरमा नै थुपारेर राखेका छन् । अघिका वर्षहरूमा चिराइतो संकलन र विक्रीबाटै खर्च जुटाएका गुरुङलाई पछिल्लो पटक संकलित चिराइतो अहिलेसम्म विक्री नहुँदा परिश्रम खेर जाने चिन्ता छ ।

यी किसान मात्रै नभई चिराइतो संकलन गरेका पहाडी जिल्लाका सबैजसो चिराइतो खरीदविक्री नहुँदा समस्यामा परेका छन् । यो वर्ष यहाँका अधिकांश किसानले भेला गरेको चिराइतो अहिलेसम्म विक्री हुन सकेको छैन भने चिराइतो खरीद गर्ने व्यापारीहरूसमेत किसानसम्म पुगेका छैनन् ।

जडीबुटी व्यवसायीका अनुसार अघिल्ला वर्षहरूमा प्रतिकिलो ६ सय रुपैयाँसम्ममा चिराइतो खरीद विक्री हुन्थ्यो । पछिल्लो पटक भारतीय बजारबाट चिराइतोको माग नहुँदा खरीदविक्री हुन नसकेको व्यवसायीको भनाइ छ । यता चीनको तिब्बततर्फ लैजानसमेत ढुवानी खर्च बढी लाग्नेलगायतका कारण समस्या छ । व्यवसायीले समेत संकलन गरेको चिराइतो गोदाममै थन्किएको स्थानीय जडीबुटी व्यवसायी सविन बानियाँले बताए ।

पहाडी क्षेत्रमा मुख्य आम्दानीको स्रोत मानिएको अलैंचीले मूल्य नपाउँदा निराश बनेका किसानलाई चिराइतोको समेत बजार र मूल्य नहुँदा समस्या भएको छ । ‘आजकल भने जस्तो अलैंचीको मूल्य नहुँदा र चिराइतोसमेत नबिक्दा मारमा परियो,’ सिदिङ्वा गाउँपालिकाका किसान बलबहादुर तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्