पुलिसलाई स्तब्ध पार्दै सिलगुडी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा

पुलिसलाई स्तब्ध पार्दै सिलगुडी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा

बेलबारी । रोयल फुटबल क्लब सिलिगुडी भारत तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
बेलबारी–११ लक्ष्मीमार्गस्थित मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा स्तब्ध बनाउँदै पाहुना टोली भारत विजयी बनेको हो । विजयी सुरुवात गर्दै उसले आगामी बिहीबार हुने सेमिफाइनल खेलमा विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको छ । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
भारतको जितमा गोल रक्षक किशोर गिरीको भूमिका महत्वपूर्ण रहयो । टाईब्रेकरमा भारतका निरज बस्नेत, पोल्साङ लामा, क्लास बस्नेत र सोनाम भुटिएको प्रहारले जाली चुमेको थियो । पुलिसका सुमन लामा र भरत साहको प्रहार मात्रै गोलमा परिणत भयो । निरकुमार राईको प्रहार रोकेर भारतका गोलरक्षक तथा खेलको म्यान अफ दी म्याच किशोर गिरीले उत्कृष्ट प्रदर्शन गरे । बुद्ध वलको प्रहार पोलमा लागेर फर्किएपछि पुलिसको सेमिफाइनल यात्रामा पूर्णविराम लाग्यो ।
समान खेलको सुरुवातमै गोलको खाता खोलेर अग्रता बनाए पनि भारतले विजय हाँसिल गर्न भने टाईब्रेकरसम्म पर्खनु प¥यो । भारतका प्रतिक लामाको कर्नर प्रहारलाई हेड गर्दै अमीर लामाले तेस्रो मिनेटमै बललाई जाली चुमाउँदा पुलिस दबाबमा परेको थियो । त्यसपछि आक्रमक बनेको पुलिसले भारतको सुरुवाती अग्रता चार मिनेट पनि टिक्न दिन । शौजन याक्खाले सातौं मिनेटमा गोल फर्काउँदै पुलिसलाई खेलमा फर्काए ।
मध्य भागबाट हेमन्त श्रेष्ठले दिएको पासमा विपक्षी गोल रक्षक गिरी अगाडि बढेको मौका छोप्दै याक्खाले भली गरेर बललाई पोस्टको दिशा दिएपछि खेल बराबरीमा आएको हो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।
भारतका दीपु वर्मनले ८१ औं मिनेटमा अर्को गोल गरेर खेललाई २–१ को अवस्थामा पु¥याए । निरज बस्नेतको पासमा पुलिसका गोलरक्षक सन्जित श्रेष्ठलाई विट गर्दै वर्मनले बललाई वान टच जाली चुमाएका थिए । निर्धारित समय सकिन ९ मिनेट समय मात्रै बाँकी रहेको अवस्थामा पनि भारत सम्हालिन नसक्दा खेल टाईब्रेकरमा धकेलिएको हो । अन्तिम समयमा पुलिसका सुमन लामाले गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा पु¥याएका थिए । भारतका प्रतिक लामाले फल खेलेपछि करिव २५ यार्ड टाढाबाट पाएको फ्रिकिक प्रहारलाई सुमनले सदुपयोग गर्दै बललाई पोस्टको बाटो दिएपछि खेलको छिनोफानो निर्धारित समयमा हुन सकेन ।
दुवै टिमले गोल गर्नका लागि पाएका आधा दर्जन राम्रा अवसरको सदुपयोग गर्न सकेनन् । भारतको तुलनामा अवसर धेरै सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा र फिनिसिङ फितलो हुँदा पुलिस नतिजा विमुख बनेर फर्किएको हो । पुलिसका निरकुमार राई, सुमन लामा, भरत साह र वुद्ध वल वान भर्सेस वानको अवस्थामा गोल गर्न चुक्नु पुलिसका लागि दुर्भाग्यपूर्ण बन्यो । भारतका पनि आदर्श तामाङ, निशान्त लिम्बू र श्याम सरकारको प्रहारले पोस्टको बाटो नदेख्दा खेलको नतिजा निर्धारित समयमा निस्कन सकेन ।
खेलको म्यान अफ दी म्याच भारतका गोलरक्षक किशोर गिरी घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाए । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लब सुनसरी र मदन भण्डारी स्र्पोट्स एकेडेमीबीच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्