ओलाङचुङगोला भन्सार कार्यालय १ वर्षदेखि बन्द

ओलाङचुङगोला भन्सार कार्यालय १ वर्षदेखि बन्द

ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुङगोला भन्सार कार्यालय १ वर्षदेखि बन्द रहेको छ । गतवर्षको असारयता कुनै कर्मचारी नपुगेपछि कार्यालय बन्द भएको हो । उक्त भन्सारबाट आर्थिक वर्ष २०७५/७६ मा राजस्व संकलन नै नभएको कोष तथा लेखा नियन्त्रकको कार्यालय, ताप्लेजुङले बताएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा उक्त कार्यालय नियमित सञ्चालनमा थियो । सो वर्ष ४ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा १५ हजार राजस्व उठेको तथ्यांक छ । पछिल्ला वर्षमा कार्यालय नियमित नखुल्दा राजस्व संकलन प्रभावित भएको हो ।

चीनसँग जोडिएको यो नाकाबाट वार्षिक करोडौंका मालसामान आयात निर्यात हुने गरेको स्थानीय व्यापारी व्यवसायी बताउँछन् । यसरी आयात निर्यात हुने मालसामानलाई करको दायरामा ल्याउने कार्यालय नै बन्द भएपछि राज्यले घाटा बेहोर्नु परेको छ । कर्मचारी नियमित बसेको समयमा उल्लेख्य राजस्व संकलन हुने गरे पनि कार्यालय सञ्चालनमा सम्बद्ध निकायले चासो दिएको छैन ।

एक नायब सुब्बा, दुई खरिदार र एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त कार्यालयमा भन्सार विभागले नायब सुब्बा विजय श्रेष्ठ र कार्यालय सहयोगी पुरुषोत्तम पौडेललाई खटाए पनि उनीहरू अहिलेसम्म कार्यालय पुगेका छैनन् । नायब सुब्बा श्रेष्ठ अहिले सरुवा भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले बताए । अब आउने कर्मचारीलाई तत्काल त्यहाँ पठाई कार्यालय नियमित सञ्चालन गरिने उनको भनाइ छ ।

कर्मचारीको लापरबाहीका कारण कार्यालय सञ्चालन हुन नसकेको स्थानीय टासी शेर्पाले बताए । ‘गतवर्षको असारयता कार्यालय बन्द छ,’ भन्सार कार्यालय रहेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले भने, ‘कुनै कर्मचारी आएका छैनन्, कर्मचारी को छन्, कहाँ बस्छन् केही थाहा छैन ।’ कर्मचारी नहुँदा कार्यालय जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

ओलाङचुङगोला नाका हुँदै ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो लगायत जडीबुटी, गलैंचा, राडीपाखी चीनको तिब्बतमा निर्यात तथा चीनबाट लत्ताकपडा, खाद्यान्न लगायत सामान आयात हुने गरेको छ । सदरमुकाम फुङलिङबाट सवारीसाधन र पैदल यात्रा गरी २ दिनमा पुगिने ओलाङचुङगोला २ वर्ष अघिदेखि नै सडक सञ्जालले तिब्बतसँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्