खोटाङबाट हेलिकप्टर चढेको २४ घन्टापछि काठमाडौं पुगे कांग्रेस महामन्त्री कोइराला

खोटाङबाट हेलिकप्टर चढेको २४ घन्टापछि काठमाडौं  पुगे कांग्रेस महामन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहित नेताहरूलाई खोटाङबाट लिएर उडेको हेलिकोप्टर विभिन्न ठाउँमा अवतरण गर्दै बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा भाग लिन खोटाङ पुगेका महामन्त्री कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, नवलपरासी सभापति भरत गुरूङ र पार्टी नेतृ हिरा गुरूङ बुधबार दिउँसो करिब २ः३० बजे दिक्तेलबाट काठमाडौंका लागि उडेका थिए।

पानी परिरहेको र बादल लागेकोले बुधबार काठमाडौं आउन नसकेर ठाउँ–ठाउँमा अवतरण गर्नुपरेको नेता भण्डारीले जानकारी दिए। ‘काठमाडौंका लागि उडेको तर बादलले गर्दा दुई ठाउँमा आकस्मिक अवतरण गर्नुपर्‍यो, साँझपख रामेछाप विमानस्थल पनि पुग्यौं,’ भण्डारीले  भने।

प्रभु एअरको नाइन एनएएलयू कलसाइनको हेलिकोप्टर खराब मौसमका कारण ठाउँ ठाउँमा अवतरण गर्नु परेको हो। सुनकोशी र दुधकोशी नदी किनारमा बुधबार आकस्मिक अवतरण गर्दा हेलिकोप्टर हेर्न स्थानीय बासिन्दा पनि पुगेका थिए। भण्डारीले स्थानीय बासिन्दासँग खिचिएको फोटो फेसबुकमा राखेका छन्।

बिहीबार मौसम केही खुलेपछि रामेछाप विमानस्थलबाट काठमाडौं विमानस्थलका लागि उडेको भण्डारीले जानकारी दिए। ‘भर्खरै काठमाडौं विमानस्थलमा आइपुगियो,’ उनले भने।
साभार : सेतोपाटी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्