विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले केही महिना अगाडि मात्र आवर विराटनगर डट नेटसँगको कुराकानीमा विराटनगर महानगरपालिकाका सबै सडकहरु दशैसम्ममा पिच गर्ने दाबी गरेका थिए । तर दशैको आज दोश्रो दिनसम्म पनि कामले गति लिएको छैन ।
विराटनगरका मुख्य सडक तथा नालाहरु बनाई सक्ने अनि दशैमा घरमा आउने नगरवासी चिल्ला सडकमा हिड्न पाउनेछन् भन्दै आएका थिए तर पुरा हुन सकेन । असोज १२ गते आईतबार घटस्थापानको दिनपरेको पानीका कारण विराटनगरको रोडशेष चोक पुरै डुवानमा थियो । मुख्य बजारका पसलहरुमा पानी पसेका थिए । आज भन्दा करिब चार महिना अगाडिको बोलेका कुरालाई मात्र आधार मान्ने हो भने पनि के मेयर भीम पराजुलीले आफूले बोलेका बाचा पुरा गरे त ? पक्कै पनि विराटनगरमा जमेका पानी र विकासका हिसावले भएको कामलाई आधार मान्ने हो भने काम भएको जस्तो देखिँदैन ।
विराटनगर ८ हस्पिटल चोकको पुर्व देवकोटा जाने चोकको अबस्था पनि उस्तै नै छ । सडकमा हिड्न सक्ने अबस्था छैन । सडकमा हिड्ने गाडी चिप्लीएर कुन खाल्डोमा पर्ने हो भन्ने चिन्ता छ, सर्बसाधारणलाई ।
विराटनगरमा पछिल्लो ४ दिनदेखि लगातारको बर्षाको कारण निक्कै समस्या देखियो । यसको कारण भनेको बर्षाले भन्दा विकास समस्याको कारण थियो । दशैको मुखमा परेको लगातारको बर्षाले नगरका विभिन्न स्थानमा पानी जमेको कारण नगरवासीले दुःख भोगिरहेका छन् । विराटनगरका व्यापारीहरु पानी जमेका कारण पानीमाथी व्यापार गर्न वाध्य भएका छन् । समय मै सम्बन्धित निकायले बाटो तथा नाला निर्माणमा ध्यान नदिएका कारण आफूहरुले दुःख भोग्नुपरेको व्यापारीहरु यसरी बताउछन् ।
मुख्य सडक र भित्री सडकका कुरा मात्र हैन उपचार गर्न जाने अस्पताल पनि पानीको निकास हुन नसक्दा डुवानमा पर्यो । यो समस्या पनि विराटनगरको विकाससँग जोडिएर आएको समस्या हो । पानीको निकास नगरिदिँदा पानी पर्नसाथ माछा पोखरी झै अस्पताल देखिने गरेको छ ।
पानी जमेका कारण ढलको निकासा नहुँदा मुख्य प्रवेशद्धारामा पानी जम्ने गरेको हो । दशै शुरु भईसक्यौ, गाउँबस्तीहरुमा मालश्री धुनबज्न थालिसकेका छन् । हरेकका घह्मा जमाना राखिसकिएको छ । विराटनगर बाहिरबाट मान्छेहरु दशैको लागी आउने जाने क्रम शुरु भईसकेको छ, अदालतहरुमा दशै बिदा शुरु भईसकेको छ । अनि बजार भर्नेको चहल पहल पनि उसैगरि देखिन थालेको छ । विराटनगरको बजार चारै तिर खनेर भद्रगोल बनाईँदा ब्यापारीलाई भने दशैँ लागेको छैन । एकै पटक बजार क्षेत्र खनेर छाडिएका कारण सर्बसाधारण बजार छिर्न डराउने अबस्था छ । यसले गर्दा दशैमा मेयर पराजुलीले भने झै बाटोहरु चिल्ला त हुन सकेनन् तर दशै पर्खिएर बसेका ब्यापार पनि चौपट भएको छ ।
तर अहिले आएर भने मेयर पराजुलीले पानीको कारण सडकको निर्माण पुरा गर्न नसकेको बताएका छन् । उनले गर्दा गर्दै पनि कामहरु गर्न धेरै बाँकी रहेको र काम गर्दै गर्दा बर्षा भएको कारण समस्या भएको प्रतिक्रिया दिए ।