झरीले खुम्च्यायो रहर : इलाम घुम्न आएका पर्यटक झरीले निराश

झरीले खुम्च्यायो रहर : इलाम घुम्न आएका  पर्यटक झरीले निराश

उनले भनेजस्तै तीन दिनअघि देखि निरन्तर परेको पानी न ठूलै पर्न सकेको छ, न त उग्रेर घाम नै लागेको छ । तर, निरन्तर पानी परिरहेका कारण स्थानीयवासीको नियमित काम प्रभावित भएको छ । दसैं लागेसँगै बाहिर रहेका परिवार भेला हुने, आफन्तकामा जाने, घुम्ने अनि रमाइलो गर्ने धेरैको सोच हुन्छ । तर, पानीले त्यस्तो सोचलाई भने खुम्च्याउनुपर्ने अवस्थामा पुर्‍याएको छ । दशमीको दिनदेखि टीका र आशीर्वाद थाप्न जान पानीले दिन्छ या दिँदैन भन्नेमा वृद्धा पोख्रेल चिन्ता गर्छन् ।

इलाम नगरपालिका–६ कै गङ्गा दहाल (थपलिया) पनि पानीले दसैं सोचे जति राम्रो हुन्छ या हुँदैन भन्नेमा चिन्तित छन् । दसैं सुरु हुँदा पानी परिरहेकाले उनलाई दसैंभर पानी परिरहन्छ भन्ने चिन्ता छाएको हो ।

यो समय जिल्लाका पर्यटकीय स्थलहरु घुम्न जाने र परिवारसँग रमाइलो गर्ने सोच पहिल्यैदेखि बनेको बताउने उनी पानीकै कारण घरबाहिर निस्कनै नसकेको बताउछन् । प्रायः दसैं आउनुअघि देखि नै मौसम सफा हुने र घाम लाग्ने गर्दथ्यो तर यस वर्ष जबजब दसैं भित्रिन थाल्यो उतिउति पानी परिरहन्छ । उनले भने, “पानीले धेरैले सोचेका र आँटेका कामहरु गर्न सकिरहेका छैनन् ।”

विद्यालय छुट्टी भएपछि सदरमुकाममा बसेर अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकशिक्षिका गाउँ गाउँ जानुपर्ने हुन्छ । दसैं मनाउन काठमाडौं बस्ने विद्यार्थी पनि आउन थालेका छन् । सदरमुकामबाट गाउँ जाने गाडी नजाँदा समस्या भएको उनीहरुको भनाइ छ । सवारी नचल्दा बिरामी पर्दा एम्बुलेन्स जाने सडक छैन । यसले स्थानीयवासीको दैनिकी निकै कठिन हुँदै गएको छ ।

काठमाडौँबाट दसैं मनाउन नै आउनुभएका इलाम देउमाई नगरपालिका–२ का सोमनाथ सुवेदी गाउँमा गाडी नजाने  भएपछि चिन्तित छन् । सामान लिएर कसरी घर पुग्ने भन्ने चिन्तामा छन् ।

यता चाडपर्वमा मान्छे बोक्न नपाउँदा गाडीले कमाउन नसकेको सवारी व्यवसायी बताउँछन् । व्यवसायीले गाडी गाउँमा नजाँदा पक्की सडकभरि मात्र सवारी कुदाइरहेका छन् । यसले गर्दा सोचे जति र हुनुपर्ने कमाई नहुँदा किस्ता तिर्न नसकेको बताउने गरेका छन् ।

निरन्तर परेको झरीले गाउँजाने प्रायः सडक हिलाम्ये भएर गाडी नै गुड्न सक्ने स्थितिमा छैनन् । कतै सडक नै अवरुद्ध छन् । कतै जोखिम हुन्छ भन्ने भयले गाडी नै कुदाइएको छैन । जिल्लाको सोयाङ, माबु, माईमझुवा, एकतप्पा, फाकफोक, साबजुङ, तपेवा लगायतका स्थानमा गाडी जान सकिरहेका छैनन् ।

गाडी जान नसकेका कारण दैनिक उपभोग्य सामान भित्र्याउन समस्या भएको स्थानीयवासीको भनाइ छ । उनीहरुले हिउँद लागेपछि दसैंलाई सामान लैजाने सोच बनाएपनि सपना अधुरै होला भन्ने चिन्ता छ ।

गाउँमा दसैं लागेसँगै खाद्य सामग्रीसँगै, लगाउने कपडा र अन्य वस्तु लैजानुपर्ने बाध्यता छ । बर्खादेखि पालेका खसीबोका पनि बजारसम्म पुर्‍याउन सक्ने स्थिति नभएको गाउँगाउँमा किसानको भनाइ छ ।

यो याम विशेष गरेर अलैँची टिप्ने याम हो । उत्पादन भएको अलैँची सुकाउन नसकिएको किसान रुद्र आचार्यले बताए । झरीकै कारण अलैँची सुकाउन नपाउँदा अलैँची कुहिने भएकाले आफूहरुलाई घाटा भएको उनको भनाइ छ । मानिसका रहर असीमित हुन्छन् । बर्खायामभरि काम गरेका किसान दसैंका याममा बजार जाने, आफूलाई मन लागेका लुगा कपडा खरीद गर्ने, बजार पसेर मीठो खाने लगायतका सपना अधुरै रहेका छन् ।

चिया किसानले दिनभर बगानमा टिपेको चिया कारखाना र चिया जोख्ने केन्द्रसम्म पुर्‍याउन नसक्दा समस्या भएको छ । चिया जोख्ने केन्द्र र कारखाना नपुर्‍याउँदा चिया डढ्ने, कुहिने र सुक्ने गर्दछ । समयमा चिया पुर्‍याउन समस्या भएको चिया किसानको गुनासो छ ।

यो सब समस्या भने हिलाम्ये सडक भएकै कारण हो । जताततै खोलिएका सडक व्यवस्थित गर्न नसक्दाका परिणाम गाउँगाउँका जनताले भोगिरहेका छन् । स्थानीय सरकारले सकडको स्तर उकास्न र बाह्रैमास सवारी सञ्चालन हुने गरी सडक निर्माण गर्न नसकेका कारण यस्तो भएको हो । ग्राभेल र नाली नभएका कारण सवारी सञ्चालन हुन सकिरहेका छैनन् ।

केही वर्षअगाडि जिल्लामा सञ्चालित उन्नति परियोजनाले मर्मत गरेका सडक अहिले पनि सवारी गुड्न सक्छन् । सूर्योदय नगरपालिकाको फिक्कलदेखि माईजोगमाई गाउँपालिकाको नयाँबजारसम्म जाने सडक मर्मत गरेको थियो । उक्त सडकमा हाल सहज गाडी गुडिरहेको छ ।

देउमाई नगरपालिकाको गाग्रेभञ्ज्याङ, जितपुर सिद्धिथुम्का हुँदै झापा जाने सडक पनि मर्मत गरेको थियो । उक्त सडकमा सवारी गुडिरहेका छन् । केही सडक उन्नतिले मर्मत गरेपछि सहज नै भएपनि अन्य ग्रामीण भेगमा जाने अन्य सडकको स्तर दयनीय छ ।

यता जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वाअनुमान महाशाखाले पनि अझै करीब एक साता मनसुन सक्रिय रहने बताएको छ । त्यसैले यस वर्षमा दसैंअगाडि गाउँगाउँमा रहेका जनताको गाडी चढ्ने र सामान ढुवानी गर्ने सपना पूरा नहुने जस्तै देखिएको छ ।

देउमाई नगरपालिकाबाट फाकफोकथुम गाउँपालिकाको एकतप्पा जाने सडक पक्की हुँदै गरेकाले बीचको सडक हिलाम्ये भएको देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले बताउनुभयो । पानी परिरहेकाले मर्मतमासमस्या भएको उनको भनाइ थियो ।

अन्य गाउँजाने सडक पनि नगरपालिकाले मर्मत गर्ने योजना बनाइरहेको उनी बताउछन् । प्रदेशसभा सदस्य राम रानाले विकास हुने क्रम चलिरहेको भन्दै क्रमशः सडकको अवस्था सुधार हुँदै गएको बताए । उनका अनुसार देउमाई नगरपालिकाको गाग्रेभञ्ज्याङबाट जितपुर हुँदै झापा जाने सडक र मङ्गलबारे बजारबाट गजुरमुखी जाने सडक पक्की गर्न प्रदेश सरकारले काम अगाडि बढाइसकेको बताए ।

उनका अनुसार उक्त सडकलगायत अन्य केही सडकका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेका छन् । जिल्लाका अन्य सडकको पनि स्तरोन्नति गरिनेछ । इलाम नगरपालिकाको बरबोटेबाट सन्दकपुर गाउँपालिकाका विभिन्न स्थानमा जाने सडक पनि पक्की गर्नका लागि काम अगाडि बढेको बताइएको छ । - रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्