विराटनगर, १६ असोज । विराटनगरमा एक सिटी सफारी चालकले एक महिलामाथि चक्कु प्रहार गरेका छन् ।
सिटी सफारी चार्ज गरेको विषयमा बिहीबार विहान विवाद हुँदा विराटनगर–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु गरेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार घटनामा घाइते भएकी महिलाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको चारवटा टाँका लगाइएको छ । मेघराजले आफ्नो सिटी सफारी लुकाएर मायादेवीको घरमा जोडेको बिजुलीमा चार्ज गरेपछि दुई पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ । मायादेवीले बिल धेरै उठ्ने भन्दै आफ्नो घरको बिजुलीमा चार्ज नगर्न आग्रह गर्दा मेघराजले बिहान ११ बजे चक्कु हानेको प्रहरीको भनाइ छ । चक्कु प्रहार गरेर फरार भागेका मेघराजलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर राना नेत्रृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । मेघराजले भने मायादेवीले आफूलाई दिनु पर्ने पैसा नदिएको र उल्टै विवाद गरेका कारण आवेसमा आएर चक्कु प्रहार गरेको प्रहरीलाई बताएका छन् । घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी खिँउजुले बताउनु भयो ।