प्रदेशसभाको सञ्‍चारकर्मीसँग शुभकामना आदान प्रदान, चारवटै अधिवेशनको गतिविधि प्रस्तुत

प्रदेशसभाको सञ्‍चारकर्मीसँग शुभकामना आदान प्रदान, चारवटै अधिवेशनको गतिविधि प्रस्तुत

विराटनगर । प्रदेश १ को प्रदेशसभाले चारवटा अधिवेशनको अन्त्यसम्ममा जम्मा ४० वटा विधेयक पारित भएका छन् । प्रदेशसभा सञ्‍चालनका लागि प्रदेशसभा सञ्‍चालन नियमावली पारित भएको छ  भने तीनवटा विधेयक संशोधन भएका छन् ।

यही अधिवेशनमा पेश भएका आठ विधेयकसमेत गरी चौथो अधिवेशनबाट जम्मा १४ वटा विधेयक पारित भएका छन् । अविधेशनमा जम्मा ५४ पटक बैठक बसेको थियो । कुल ६३ घण्टा १६ मिनेट बैठक बस्यो । चौथो अधिवेशनमै सबै सातवटा संसदीय समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

प्रदेशसभाले बिहीबार बडादसैंको अवसरमा सञ्‍चारकर्मीसँग आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा चारवटै अधिवेशनको तथ्यांक र गतिविधि पेश गरेको थियो । संसद सचिवालयका अनुसार पहिलो अधिवेशनमा जम्मा ३९ पटक बैठक बसेको थियो । अधिवेशनले प्रदेशसभा नियमावली र ११ विधेयक पारित गरेको थियो ।

दोस्रो अधिवेशनमा ५२ वटा बैठक बसी जम्मा १२ विधेयक पारित भएका थिए भने तेस्रो अधिवेशनमा जम्मा ३५ पटक बैठक बस्यो । यो अधिवेशनबाट पाँचवटा विधेयक पारित भए ।

विपद् व्यवस्थापन ऐन, २०७५ संशोधन भयो । यहि अधिवेशनले प्रदेशसभा नियमावली पनि संशोधन गरेको थियो । चौथो अधिवेशनबाट पारित भएका जम्मा संशोधन भएका विधेयकमा गाउँ तथा नगरसभाका सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बेनेको विधेयक र जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक छ ।

प्रदेशसभा सचिवालयका उपसचिव अर्जुन निरौलाले हालसम्म पारित भएका कानुन तथा संसद सचिवालयका गतिविधिबारे जानकारी गराएका थिए । उनले भने,‘‘संसदका गतिविधि एप्स र वेभसाइटमा अत्याधुनिक ढंगले प्रस्तुत गर्ने क्रम पनि सुरू भएको छ ।’’ उनले प्रदेशसभा प्रविधिमैत्री बन्दै गएको सुनाए । उद्योग पर्यटन तथा वातावरण समिति सभापति सीता थेवेले मुलुक संघीयतामा गईसकेपछि यसको अभ्यासले गति लिएको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा व्यवस्थित गर्न विभिन्न काम भईरहेको जानकारी दिँदै भने,‘‘चमेनागृह निर्माणदेखि मिडिया सेन्टर व्यवस्थित गर्नेसम्मको काम भएका छन् ।’’ नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्साल र महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलले संसदीय पत्रकारहरुको क्षमता अभिवृद्धिमा थप काम हुनुपर्ने सुझाव दिएका थिए । कुमार लुइँटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्