२७ आश्विन २०७६, सोमबार

दशैँ क्रेज ‘सुन्दर स्मृति’

लेखक :तारा पराजुली
दशैप्रतिको बुझाई,विश्वास र मान्याता ठ्याक्कै कुन प्रसङ्गले कसिलो बनायो त्यता नजाउ।सानों छंदा भोगेका भोगाइले जे सिकायो ती औधी प्रेममय थिए जसका कारण आज पनि दशै प्रिय छ।तर बाल्यकालको दशैँ र आजको दशै दर्ज गर्दा आकाश पातालको भिन्नता छ।
पहाडमा दशैँ आउन लाग्दा हावाको बहाब र बेग नै भिन्न लाग्थ्यो।माटोको सुगन्ध,फूलको सुवास,चराहरुको संगीत,घामको स्पर्श सबै अर्कै छुट्टै प्रेमिल लाग्थे।स्कुल छुट्टी भएपछि औंला भाँच्न सुरु हुन्थ्यो दशैँ आउने दिन गनेर।सांच्चै अनौठो त्यो समय।त्यसमा पनि सबै घरहरु पोतिएर चिटिक्क पारेपछि,बाटो खनेर चौडा र सिनिक्क बनाएपछि बर्णनमा सुनेको स्वर्ग भन्दा कम कहाँ थियो र मेरो घर अनि गाउँ।
म बच्चादेखि नै अलि पृथक स्वभावकी केटी रहेछु।अहिले सम्झदा मेरो उसबेलाको मिहिनेत र संघर्ष आफैँलाई महान लाग्छ। दशैँस्ंग जोडिएका अनेकन निजी अनुभव,साहस र थुप्रै सुन्दर स्मृति छन् मसंग। ती स्मृति र भोगाइले घरीघरी उतै तानेर लैजान्छन् आफैंबाट मेरा दैनिकीहरुलाई र मेरा सपनाहरुलाई।
हामीले जान्दा हाम्रो घरको कलर न पहेलो न रातो न सेतो अनौठो रङको थियो।अरुको भन्दा पृथक घरको कलर देखेर मैले बुबाआमालाई कलर चेन्ज गर्न भनें।बुबाआमा मान्नु भएन।’अरुको जस्तो त अरुकै छदैछ नि र त हाम्रो फरक बनाएको त।’ बुबाको जवाफ् थियो।धेरै जिद्धी गरेपछि मात्र उहाँहरुले सहमती दिनु भयो मेरो रहरको घर बनाउन।।बुबाआमासँग तर्क र तयारीले जितेपछि त्यस बर्षको घर सिंगार्ने सबैजसो काम मैले आफै गर्ने हिम्मत गरें। लगभग आउन जान ५ घन्टाको बाटो हिंडेर आफैँ रातो गाडा माटो खोजेर ल्याएं र घर पनि आफैँ छेपें।हाम्रो घर अग्लो तीन तले थियो।ठूलो अग्लो भर्याङ चढेर हरियो किटको बाल्टीमा रङ्गीन माटोको घोल छानाको बलोमा डोरीले झुन्ड्याएर मैले घर छेपें।ठुलोबुबाले बुइगल नजिक पुगेको मेरो उचाइ हेर्दै गर्वले हँसिलो चेहरा बनाएर मनमनै धन्यवाद दिँदै भुइँमा बसेर भर्र्याङ् समाइदिनुभयो। साना हातहरुले कुचो चोप्दै छ्याप् छ्याप् पहिलो पटक सानी केटीले घर छेपेको देखेर बुबाआमा र छिमेकीहरु छक्कै पर्नु भयो।त्यसबेला म त्यस्तै१३/१४ बर्ष मात्र पुगेकी थिएं।
अहिले पनि याद ताजै छ।म कलर(रङ)को कुरामा चाहिँ निकै चुजी रहेछु भन्ने कुरा मैले हाम्रो घरमा तीन बर्षमा तीन वटा रङ छानीछानी पोतेको कुराले पुष्ठि गर्छ।रातो रङ पोतेको ठिक एक बर्ष पछिको दशैँमा मैले घरमा सेतो चम्किलो कमेरो माटोले पोतें ।अर्को बर्षको दशैंमा त्यो पनि मन परेन र निख्खुर पहेलो रङले घर रङ्गाएं।माथि पहेंलो तल भुँईमाथिको भागमा सिधा लाइन बनाउन डोरी तन्काएर रातो माटोले पोतेपछि बल्ल बन्यो मेरो रहरको घर।साँच्चै खुब मुस्कुरायो हाम्रो घर त्यस बेला।त्यो भन्दा धेरै मुस्कुराएर रमायो म भित्रको सानो मान्छे।घरमाथि पाखेखेत छेउमा ठूल्ठूला मौवाका रुखहरु थिए।झ्यालहरु रङ्गाउन हामी हरेक बर्ष मौवाको बयस्क बोट खुर्केर बोक्राहरु जम्मा गर्थ्यौँ।ढिकीमा कुटेर उक्त बोक्रा ठुलठुला भाडामा राखेर दुई दिनसम्म आगोमा पकाएपछि पक्की रङ बन्थ्यो।जसले झ्याल ढोका रङ्गाएपछि घर बेहुली झैँ हुन्थ्यो।भित्ता, झ्याल, ढोका आफ्नो चाहना अनुसार भएपछि बल्ल हाम्रो घर सपनाको घर जस्तो भयो।।त्यसपछि घरको बाहिरी रङ्ग कहिल्यै फेरिएन।मेरो कलिलो छनोट परिवारको अब्बल स्वीकृति बन्यो समय संगै घरभित्रका थुप्रै कथाहरु फेरिए जिर्ण प्वालहरु टालिए।पात्रहरु थपिए।अभिनय फेरिए।त्यही घरबाट कैयौं दशैंहरु बिते।जति बिते खुशीले बिते दु:खहरुलाई जितेर बिते।आँसुलाई उछिनेरै बिते।घर पनि एक शक्ति रहेछ,सुरक्षा र विश्वास रहेछ।प्रत्याभूत भयो।
दशैँमा पिङ हाल्न कि त बारीमा अगौटे(नङ कटुवा)कोदो रोपिन्थ्यो कि त खेतमा तौली धान।बारीका डिलमा बाबियो जोगाएर राखिन्थ्यो पिङ्को लठारो बाट्न भनेर।धान गोडि नसकेको साल अलि भद्दा लाग्थ्यो दशैँ।तसर्थ दशैं उल्लासले मनाउन झरी बादल नभनी धान गोड्ने काम मैझारो गर्नै पर्थ्यो।दशैँ लागेसंगै गाउँभरि मात्रै होइन पारिपारि बोयातिरबाट समेत शक्तिशाली आवाज मसम्म आइपुग्थ्यो। चिउरा कुट्दा निस्कने ढिकी बजेको त्यो संगीतको मिठास नै छुट्टै थियो।
आहा!त्यो बेलाको दशैँ,चिउरा कुटिसकेको दिन मसला कुट्ने दिन पनि हो।तातो हाडीमा हजुरआमा फिलुङ्गे र फर्सीको बियाँ भुटेर नाङ्लाभरी बनाउने दिन, हामीले धुले अचार कुट्ने दिन।आमा पाकेको काक्राको खल्पी हाल्नुहुन्थ्यो रायोको पहेलो छोप मिलाएर।दाजुहरु घरको अन्य काम सिध्याएर गाउँमा बाबियो खोज्न जानुहुन्थ्यो।बुबा पिङको डोरी बाट्नुहुन्थ्यो।ठुलोबुबाले कि त काभ्राको रुखमा कि त मत्तानमुनि पिङ हाल्दिनु हुन्थ्यो।आँगनमा जेठा दाइ(जेठा दमाई) लुगा नयाँ लुगा सिलाउनुहुन्थ्यो आँगनमै कान्छा साहु दुई हातले डोरी तान्दै हतियारमा साँन(धार) लगाउनु हुन्थ्यो।साँध लगाइससेका हँसिया,खुकुरी,कोदालो,कट्टि तरबार आदि हतियारहरु तलामाथि दुर्गा थापेर ड्म्बरु घन्ट पूजा बजेपछि ,आँगनमा खसी मार हानेपछि,नयाँ लुगा लगाएपछि पिङ मच्चाउन थालेपछि बल्ल सुरु हुन्थ्यो हाम्रो दशैँ।
नयाँ लुगा लगाएर ठूला मान्छेहरुको हातबाट निधारभरि रातो टीका,शीरभरि पहेंलो जमरा र मुट्ठीभरी पैसा र मनभरि आशिर्वाद थापेको दिन संसारकै धनी र भाग्यमानी भएको महशुस हुन्थ्यो।
एक्लै एक्लै बोलाएर कहाँ आउथ्यो र पहाडमा दशैँ???पधंरो घरदेखि अलि पर थियो,उसबेला गाउँमा बत्ती थिएन।फराकिलो बाटो थिएन,बाटोमा घर्‍र्‍र गुड्ने गाडी थिएन।पैदल हिंडेर थाकेपनि दु:ख बिसाउने मनकारी छिमेकी थिए।फराकिलो बाटो नभएर के भो र चौडा छाती र बत्ती भन्दा उज्यालो मन भएका मान्छेहरु गाउँभरी थिए।घरदेखी कोशौँ टाढा ढुङ्गेधारो भएपनि मृदु वचनले तिर्खा मेट्ने संगीहरु थिए।अहिले गाउँमा बाटो छ। बिजुली बत्ती छ ।भौतिक रुपले गाउँ झिलिमिली छ तर बत्ती वरिपरि खेल्ने रहरहरु परपर छन्।झोलुंगेमा झकाईरहेको बालक झैँ उज्यालो आफैँ एक्लै सर्माईरहेछ शून्यताको कोक्रोभित्र।जे भएपनि कहिल्यै भुल्न नसक्ने अमिट सम्झनाहरु हृदयमै छन् ।त्यो दशैँ क्रेज जसले घरीघरी  भेटाइरहन्छन् स्मृतिमा मेरो गाउँ,मेरो बाल्यकाल अनि बर्सेनि आउने प्रिय दशै प्रिय रङ…….

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस