सी भ्रमणमा प्रदेश १ को किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको छ : मुख्यमन्त्री राई

सी भ्रमणमा प्रदेश १ को किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको छ : मुख्यमन्त्री राई

विराटनगर ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने बताएका छन्। राष्ट्रपति सीको भ्रमणबारे  मुख्यमन्त्री राईले किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको भन्दै त्यसले अन्य प्रदेशभन्दा प्रदेश १ लाई बढी फाइदा पुग्ने बताए ।

‘दीर्घकालीन हिसाबले सबैभन्दा ठूलो लाभ प्रदेश १ ले लिँदैछ। किमाथांका नाकाको सडक निर्माणाधीन अवस्थामा छ। यो नाका खोल्ने विषय औपचारिक रुपमा प्राथमिक एजेण्डाभित्रै यस पटक राखिएको छ। यदि त्यो नाका खोलिने हो भने त्यो लाइफलाइन सडकको रुपमा सावित हुनेछ,’ मुख्यमन्त्री राईले भने, ‘जुन नाकाले प्रत्यक्षरुपमा भारत र चीनलाई पनि जोड्नेछ र मेरुदण्डमा प्रदेश १ रहनेछ।’  मुख्यमन्त्री राईले कृषि, उद्योग, पर्यटन, जलस्रोत क्षेत्रमा प्रदेश १ मा लगानीको प्रशस्त सम्भावना रहेको बताउँदै त्यस सम्भावनाहरुप्रति चिनियाँहरुको ध्यानाकर्षण भएको दाबी गरे।

सी भ्रमणमा प्रदेश १ को तर्फबाट थुप्रै योजनाहरु छलफलका लागि प्रस्ताव बनून् भनेर ठोस गरी पठाएको उनले बताए।  उनले बृहत् विराट क्षेत्रको अवधारणा, चक्रपथ चार लेनको बनाउने, औद्योगिकपार्क निर्माण गर्ने, कृषिमा नमुना आधुनिक फर्म सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय विमानस्थल विराटनगरमा बनाउने, केचना–सगरमाथा फाष्ट ट्रयाकबाट जोड्ने, ट्रंक लाइनबाट खानेपानी वितरण गर्ने प्रदेश १ को एजेण्डा रहेको बताए ।  २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन गइरहेको भन्दै मुख्यमन्त्री राईले त्यसको अधिकतम लाभ लिन सरकारलाई आफूहरुले सुझाव दिएको बताए।

‘यो भ्रमणले धेरै ठूलो महत्त्व र अर्थ राख्दछ, नेपाल राजनीतिक अस्थिरताबाट मुक्त भएको, लामो राजनीतिक अन्यौलताको अन्त्य भएको र देश विकास र समृद्धितर्फ उन्मुख भएको अवसरमा भ्रमण भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘यसलाई नेपालको हित र लाभमा अधिकतम हामीले उपयोग गर्नु सक्नु पर्दछ। त्यसै हिसाबले सरकारले तयारी गरेको छ। हामीले पनि प्रदेशको तर्फबाट त्यही ढंगले सुझाव दिएका छौं।’ थाहाखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्