एक किलोको दश लाख पर्ने केशरको खेती इलाममा शुरु

एक किलोको दश लाख पर्ने केशरको खेती इलाममा शुरु

इलाम । प्रतिकिलो दश लाख सम्म मुल्य पर्ने उच्च मुल्यको जडिबुटि केशरको उत्पादन इलाममा शुरु गरिएको छ । इलामको जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा केशरको खेती शुरु गरेको हो । सोमबार गाउँपालिका अध्यक्ष सहित उक्त संस्थाका प्रतिनीधिले केशरको फूल पहिलो पटक टिपेका छन् ।

केशर यहाँ हुन्छ या हुदैन भन्ने अन्यौलका बीच सफल भइ उत्पादन शुरु गरेको अध्यक्ष बीर बहादुर कटुवालले बताए । उनले परिक्षणका लागि भारतको कास्मीरबाट दुइ मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाएको जानकारी दिए । थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार पाँच सय देखि दुइ हजार पाँच सय मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । असोज महिनामा यो बाली लगाएर कार्तिक मंसीरमा उत्पादन लिने गरेको पाइन्छ । नेपालमा यसको उत्पादन गुणस्तरिय भएको र पहिलो पटकको आफ्नो उत्पादन आशलाग्दो भएको कटुवालले बताए । उनले जति चेप्टो र लामो साइजमा फूलको लुर्का भयो त्यति बढि मुल्य पर्ने र यसको सुगन्धले समेत प्रभाव पार्ने बताए । कम्तिमा ६ लाख रुपैयाँसम्ममा प्रतिकिलो विक्रि भएको उनको भनाई छ ।

विश्वकै महँगो खेती केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूल भित्रको रातो लुर्का संकलन गरि सुकाएर विक्रि गर्ने गरिन्छ । एउटा फूलमा दश देखि १५ मिलिग्राम केशर प्राप्त हुन्छ । करिव डेढ लाख फूलबाट एक किलो केशर प्राप्त हुने गर्दछ ।

अंग्रेजीमा स्याफरोन भनेर चिनीने केशर खेती युरोपबाट शुरु भएको इतिहास पाइन्छ । नेपालमा भने २०१९ सालमा टीस्टुङमा परिक्षण खेती लगाइएको थियो । नेपालमा हाल सात देखि दश किलो केशर बार्षिक उत्पादन हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्