विराटनगर । विराटनगर ४ कन्चनबारीका किरण गिरीका ५० बर्षिय हजुरबुबा गोविन्द पुरी अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचारत छन् । गोविन्द पुरी किड्नीको विरामी भएका कारण डाईलासिस गर्नुपर्ने हुन्छ । डाईलासिसका लागी ताजा ब्लड चाहिने भएका कारण किरण गिरी विराटनगरको रक्तसंचार केन्द्र विराटनगरमा पुगे । आफ्नो हजुरबुबालाई चाहिने ‘ए पोजिटिभ’ लिन पुगेका गिरी खाली हात फर्कनु पर्यो ।
त्यस्तै विराटनगर ६ का दिपक कामत पनि आफ्नो दाई ईश्वरी कामतको लागी रगत लिन ब्लड बैंक गए । विराटनगरको मोरङ सहकारी अस्पतालमा उपचार गराई रहेका आफ्ना दाजुलाई रगत .लिन पुगेका दिपक पनि खाली हात नै फर्कनु पर्यो ।
रगत नपाएर भौतारिएका यी माथिका दुईवटा उदाहरण मात्र हुन् । रगत नपाएर भौतिरीएका गिरी र कामतको जस्तो समस्या अहिले विराटनगरका ठूला तथा साना अस्पतालमा भेटिने गरेका बिरामीका आफन्तमा छ । उनीहरु मात्र हैन अधिकांशको समस्या यहाँ देखिएकोछ । ईलामबाट आएकी डिना योङहाङ्गलाई पनि ८ पिन्ट रगत चाहिएको थियो । विराटनगरको नोवेल अस्पतालमा उपचारर्थ डिनाको किड्नीको समस्या भएका कारण दैनिकी ‘पि आर पि’ चढाउनु पर्छ । त्यसको लागि दिनमा ४ पिन्ट रगत चाहिन्छ । तर यता ब्लड बैंकमा ब्लड नै नभेटिएपछि उनका भाई तिलक योङहाङ्ग रगतको लागी भौतारिहेका थिए ।
उनले रगतको क्षेत्रमा काम गर्दै आएको संस्था युथ फर ब्लडलाई सम्पर्क गरे । तत्कालको लागी युथ फर ब्लडले ७ पिन्ट उपलब्ध गराएको छ भने एक पिन्ट आफैले व्यवस्थापन गरे ।
रगत जोहो गर्न हम्मे
रगतको क्षेत्रमा काम गर्दै आएको ‘रगतका लागी युवा समुह– युथ फर ब्लड’ लाई पनि दैनिकी रगतको आवश्यक पर्यो भनेर २ दर्जन बढीले फोन आउने गरेको छ । दशैको बेला रक्तदान गर्ने रक्तदाता संघ सस्था नभएका कारण ब्लड बैंकमा पनि रगत नभएको बताईन्छ । अहिले दैनिक २० जना भन्दा बढीले रगतको लागी फोन गर्ने गरेको युथ फर ब्लडका भोलेन्टियर हिमान्सु अग्रवालले बताए ।
विराटनगरमा रहेको रेडक्रस सोसाईटी अन्र्तगत संचालनमा रहेको रक्तसञ्चार केन्द्रमा अहिले रगतको अभाव देखिएको छ । रक्तसञ्चारमा विरामीलाई आवश्यक पर्ने रगत नभेटिदाँ विरामीलाई समस्या पर्न थालेको हो ।
रक्तसञ्चार केन्द्रमा ‘ए पोजेटिभ, वि पोजेटिभ र एवी पोजेटिभ समुहका रगत सकिएको छ । दशैं लागे यता रक्तदान हुन छाडेका कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको रक्तसञ्चार केन्द्र विराटनगरका प्राविधिक ईन्र्चाज शिवानन्द यादवले जानकारी दिए । ‘विरामीहरु दैनिक रगतको लागी आउने गरेका छन्, उनले भने, ‘ हामीसँग स्टकमा भएजति सबै रगतको खपत भईसकेको छ, विचमा दशै पर्व भएका कारण रगतको अभाव भएको हो ।’
तत्काल रगतको अभाव पुरा गर्नको लागि रक्तदानको आबस्यकता रहेको छ । कसैलाई रक्तदान गर्न ईच्छा भए स्वयम ब्लड बैंकमा नै आएर रक्तदान गर्न पनि यादवले आग्रह गरे । रगतको क्षेत्रमा काम गर्दै आएको संस्था रगतका लागी युवा समुह ‘युथ फर ब्लड’का भोलेन्टियर्स हिमान्सु अग्रवाल र सुमन कार्कीले विरामीलाई चाहिने फ्रेस ब्लडको लागी मदत गरिरहेका छन् । तर सहयोग गर्दा गर्दै पनि रगतको अभाव भने पुरा हुन सकेको छैन ।