वैदेशिक रोजगारी ठगीमा उपसचिव सञ्जेलले असुल गराए २ करोड १२ लाख

वैदेशिक रोजगारी ठगीमा उपसचिव सञ्जेलले असुल गराए २ करोड १२ लाख

विराटनगर । सामाजिक सञ्जालमा भ्रष्टाचार विरोधी अभियन्ताको परिचय बनाएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले वैदेशिक रोजगारीमा ठगीमा परेकाहरु मुद्दा किनारा लगाउँदै त्यसबाट २ करोड १२ लाख रुपैयाँ असुल उपर गराइदिएका छन् ।

ठगीसम्बन्धी उजुरी लिएर आउने पीडितलाई ‘अन द स्पोट’ न्याय दिलाई दिने सरकारी कर्मचारीको रुपमा चिनिएका सञ्जेलले वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा पीडकबाट असुल उपर गरी केही महिनाभित्रै त्यति रकम असुल उपर गराइदिएका हुन् । सञ्जेलले भने, ‘‘पीडितले उजुरी गरेपछि सकेसम्म उनीहरुकै अगाडि पीडकसँग टेलिफोनमा कुराकानी गरी कहिलेसम्म रकम फिर्ता दिने भनेर भाका मागी मुद्दा हेर्दै आएको थिएँ ।’’ सञ्जेलले खाडीसहित विभिन्न मुलुकमा पठाइदिने भन्दै गिरोह, दलाल र व्यक्तिले समेत रोजगारीमा जान चाहनेबाट रकम लिएर भाग्ने गरेको पाइयो ।

सञ्जेल श्रम कार्यालयमा दरबन्दीमा आएलगत्तै सरकारले विराटनगरबाट सरुवा गरेको थियो तर उनले सर्वोच्च अदालतमा सरुवा विरुद्ध रिट हाली अदालतको आदेशपछि पुनर्वहाली भएर आएका थिए । पुनः श्रम कार्यालयमा आएपछि उनले सेवाग्राहीको काममा हुने ढिलासुस्तीको अन्त्यका साथै वैदेशिक रोजगारीमा हुने गरेको ठगी सम्बन्धी उजुरी पनि हेर्दै आएका थिए । तर, श्रम विभागले ठगीका मुद्दा हेर्न श्रम कार्यालयलाई रोक लगाउँदै यो अधिकार सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भएको पत्र पठाएको छ । श्रम विभागका निर्देशक (उपन्यायाधिवक्ता) राजेश्वर अर्यालले वैदेशिक रोजगारीको नाममा ठगीएको भन्ने उजुरीउपर कुनै कारबाही नगर्न जानकारी गराउँदै चलानी नम्बर २७२२ को पत्र श्रम कार्यालय विराटनगर पठाएका थिए । सञ्जेलले भने, ‘‘अब यस्ता उजुरी र मुद्दा जिल्ला प्रशासन कार्यालयमार्फत् हेरिने छ ।’’ उनका अनुसार ठगीमा परेकाहरुको श्रम कार्यालयमा हिजोआज पनि भीड भने लाग्ने गरेको छ । तर, सञ्जेलले अब प्रशासनमार्फत यस्ता विवाद मिलाइने भन्दै फर्काइदिने गरेका छन् ।

सञ्जेलले भने आफूले गरेको कामको प्रगतिबारे प्रधानमन्त्री कार्यालयदेखि श्रम रोजगार था सामाजिक सुरक्षा मन्त्री, मन्त्रालयका सचिव, वैदेशिक रोजगारी विभाग, श्रम तथा व्यवसायजन्य सरक्षा विभागलाई पत्राचार गरी जानकारी गराएका छन् । उनले प्रधानमन्त्रीसहितका सरकारी निकायलाई पठाएको पत्रमा वैदेशिक रोजागरी सम्बन्धी ठगीमा २ करोड १२ लाख असुलउपर गरेको र ५६ लाख ८० हजार असुलीको कारवाहीको प्रक्रियामा रहेको खुलाएका छन् । कुमार लुईटेल, विराटनगर । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्