अर्कै केटासँग लाग्न थालेपछि आमा छोरीको हत्या

अर्कै केटासँग लाग्न थालेपछि आमा छोरीको हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीमा आमा–छोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत शुक्रबार राति गोमा भन्ने शारदाकुमारी चौधरी र उनकी छोरी रचनाकुमारी चौधरीको घाँटी रेटेर हत्या भएको थियो । २८ वर्षीय गोमा र ५ वर्षीय छोरी रचनाको शव शनिबार बिहान फेला परेको थियो । हत्यामा संलग्न रहेको अभियोगमा सिरहाको लहान नगरपालिका २ मटेरूवा घर भई उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने रामहरि साह पक्राउ परेका हुन् । उनलाई उदयपुर प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।
४० वर्षीय साहले मोतिगडामा कोठा भाडामा लिई मिठाइ पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । घटनाको समयमा गोमा र उनकी कान्छी छोरी रचनामात्र घरमा थिए। जेठी छोरी भावना गोमाकी बहिनी सुस्मिता चौधरीसँग असोज २३ गते मामाघर गएकी थिइन्। गोमाका श्रीमान सिताराम चौधरी वैदेशिक रोजगारको क्रममा तीन वर्षदेखि मलेसियामा छन्। उक्त घरमा साह सहितका केही व्यक्ति आउने–जाने गरेको स्थानीयबाट खुलेको थियो। प्रहरीले उनीहरूको मोबाईल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब पठाएको थियो।
यस्तै जिल्ला अदालतबाट अनुमती लिई कल डिटेलसमेत माग गरी अनुसन्धान गर्दा साह लगायत तीन जनासँग बढी फोन कल भएको पाइएको थियो। अनुसन्धानका क्रममा रामहरि साहले सोधपुछमा आनाकानी गरेपछि प्रहरीले उनको कोठाको तलासी लिएको थियो। उनको कोठामा मृतकले लगाएका सुनका २ वटा रिङ्ग र पानको पात जस्तो आकारको पोतेबिनाको मंगलसुत्रसमेत फेला परेको थियो।
अर्कै केटासँग लागेपछि घटना भयो
प्रहरीले त्यसपछि सोधपुछ गर्दा साहले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रारम्भिक बयानमा साहले गोमा र रचनालाई असोज २४ गते साँझ ७ बजेतिर घाँटीमा सलले कसी घरको भर्याङ मुनी लगी घाँटी रेटी मारेको स्वीकार गरेका छन्। गोमासँग अढाई वर्षदेखि प्रेम सम्बन्धमा रहेको र पछिल्लो समय सम्बन्ध बिग्रिएपछि हत्या गरेको रामहरिले बताएका छन्। गोमाले आफूसँग विवाह नगरी अर्कै पुरुषसँग सम्बन्ध बनाएको आशंका लागेपछि आफूले हत्या गरेको साहले बयान दिएको उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्