दुहबी-कटहरी प्रसारण लाइन निर्माणमा सहमति, ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने

दुहबी-कटहरी प्रसारण लाइन निर्माणमा सहमति, ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने

विराटनगर। स्थानीयको विरोधपछि रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा सहमति जुटेको छ । सहमतिसँगै अब प्राधिकरणले ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायत सँगको छलफलपछि रोकिएको काम ४५ दिनभित्र सक्ने सहमति भएको हो ।

पोल गाडेपनि मोरङको ग्रामथान गाउँपालिका स्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार टाँग्न नदिएपछि निर्माणमा अवरोध भएको थियो ।

शुक्रबारको छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय भउको मुख्यमन्त्री राईले जानकारी दिए ।

‘प्राधिकरणले त्यस क्षेत्रमा देखिएका समस्याको पहिचान गरी सुधार गर्ने र स्थानियको मागलाई संबोधन गर्दै ४५ दिन भित्र निर्माण सक्ने निर्णय भयो,’ मुख्यमन्त्री राईले भने ।

त्यस क्षेत्रमा तार टाँग्नका लागि गाडिएका पोल घरसँगै टँसाएर गाडेको र घरमाथिबाट ३३ केभिए विद्युतीय लाइन लैजादा स्वास्थ्य सँगै नागरीकलाई जोखिम पर्ने भन्दै स्थानियले तार टाँग्न विगत पाँच महिना यता अबरोध गरेका थिए । ‘तारलाई भूमिगत गर्ने या अन्य प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सक्ने र यसका लागि सम्पूर्ण उपाय अपनाइने सर्वपक्षिय सहमति भएकोछ,’ मुख्यमन्त्री राईले अन्नपूर्णसँग भने।

निर्माणमा अवरोधपछि समस्या समाधान गर्न यसअघि मोरङ ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष र उद्योगी, व्यवसायीसँग समेत मुख्यमन्त्री राईले छलफल गरेका थिए । तर, सो छलफलमा सहमति नभएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित शुक्रबार छलफल भएको हो ।

संघीय सांसद अमनलाल मोदीले यस क्षेत्रका नागरिकको सामुहिक कुरा र समस्या भन्दै यो विषयलाई संघीय संसदमा समेत पु¥याएका थिए । उनीमाथि विद्युत प्रसारणलाईनको काम रोक्न स्थानीयलाई उचालेर प्रधिकरणसँग पैसाको बार्गेलिङ गरेको समेत आरोप लाग्ने गरेको थियो ।

शुक्रबारको छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले अवरोध नगरेको दाबी गरे । ‘लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्यो भन्‍ने सम्मका गलत आरोप लगाइयो, मैलै कोहीसँग पैसा मागेको छैन, मात्रै स्थानीय नागरिकको कुरालाई बाहिर ल्याएको थिएँ’, उनले भने । सुरुबाटनै आफू लाइन निर्माण हुनुपर्छ भन्दै निरन्तर लागिरहेको उनको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस क्षेत्रमा देखिएका समस्यालाई पहिचान गरी विद्युत् आपूर्तिलाई सुधार गर्न भोलिबाट नै काम सुरु गरिने बताए । यो प्रसारण लाइन बन्‍न नसन्दा मोरङका उद्योग र उपभोक्ताले भरपर्दो विद्युत पाउन नसकेको र यसको समस्या समाधान गरी निर्माण तत्काल सुरु गर्न प्रदेश सरकारले पहल गरेको मुख्यमन्त्री राईले बताए ।

अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । जसले लोड धान्न सकिरहेको छैन । ओभरलोडका कारण दैनिक ८ पटकसम्म यस क्षेत्रमा विद्युत काटिने गरेको थियो ।

मोरङको कटहरी गाउँपालिका १ स्थित महेशपुर खोरियामा निर्माण सम्पन्न भएको विद्युतको कटहरी सबस्टेसन चार्ज गरिए पनि सोही अवरोधका कारण प्राधिकरणले सवस्टेसनबाट विद्युत प्रवाह गर्न सकेको थिएन ।

विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख बोधराज ढकालका अनुसार विद्युत् प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभीए दुहबी–कटहरी प्रसारण लाइन ल्याउन पोल गाडिसकेको छ ।

अबरोध नभएको भए सोही क्रममा सात दिनको मात्रै काम बाँकी रहेको थियो । सबस्टेसनको सबै काम सकिएर चार्जसमेत हुँदा गिदनीय टोलका स्थानीयले तीन किटोमिटर क्षेत्रमा तार टाँग्न नदिँदा अन्तिम समयमा विद्युत प्रवाह गर्ने काम रोकिएको थियो ।

३३ केभी हाइटेन्सनको लाइन विस्तार गर्दा क्यान्सर लाग्ने, छालाको समस्या देखिने, गर्भपतन हुने र हाइटेन्सन लाइन विस्तार गरिएको जग्गाको मूल्याङन समेत घट्ने तर्क गर्दै पोल गाडेपछि गिदनीया टोलका स्थानीयले सो स्थानमा अबरोध गरेका थिए ।

सो प्रसारण लाइन एसियाली विकास बैंकको सहयोगमा बनिरहेको हो । अबरोध हटेर विद्युत सप्लाई सुरु भए यसले कटहरी क्षेत्रका उद्योग र स्थानिय साथै विराटनगरलाई नै बढी फाइदा पुग्ने निर्देशनालय प्रमुख ढकालले बताए । अहिले यो क्षेत्रमा विद्युत भए पनि कम भोल्टेजका कारण उद्योग र स्थानीयको मोटरसमेत चल्न सकेको छैन ।

यस स्थानको तार टाँग्ने कामको अवरोधका विषयलाई लिएर गत जेठमा संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच भनाभन समेत भएको थियो । भनाभनकै क्रममा घिसिङले सांसद्को असहयोगले दुहबी–कटहरी प्रसारण लाइनको तार टाँग्न नदिएको आरोप लगाएका थिए । सांसद् मोदी त्यही क्षेत्रबाट निर्वाचित भएका हुन् । साभार : , रबिन भट्टराई, अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्