विराटनगर अन्तर्गतका २४ वितरण केन्द्र प्रमुखसँग कुलमानको कार्यसम्पादन सम्झौता

विराटनगर अन्तर्गतका २४ वितरण केन्द्र प्रमुखसँग कुलमानको कार्यसम्पादन सम्झौता

विराटनगर । विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्न नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ। सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग प्राधिकरणले कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको हो।

पहिलो चरणमा प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगर अन्तर्गतका २४ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आफ्ना सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी गरिएको छ। कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अङ्कभार ५० राखिएको छ।

कार्यसम्पादनमा राखिएका सूचकको वस्तुनिष्ठ मूल्याङ्कन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ। प्राधिकरणले चालु आर्थिक वर्ष २०७६÷७७ मा वितरणतर्फको विद्युत् चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

प्रादेशिक कार्यालय विराटनगर अन्तर्गत वितरण केन्द्रहरुलाई ११.८४ प्रतिशत रहेको विद्युत् चुहावटलाई ८.८७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ। प्राधिकरणले सो लक्ष्यलाई पूरा गर्न धेरै विद्युत् चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कम चुहावट नियन्त्रणको लक्ष्य दिएको छ। प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशक्त र प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशनसमेत दिएको कार्यकारी निर्देशक घिसिङले बताए। ‘चुहावट नियन्त्रणसँगै ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण केन्द्रहरुमा आचरणमा परिवर्तन गरी संस्थागत सुशासन कायम गर्न, वित्तीय अनुशासनमा रहन र जनतासँगको सम्बन्ध सुधारलाई कठोरता साथ लागू गर्न निर्देशन दिएको छ,’ उनले भने।

कार्यसम्पादन सम्झौता मार्गनिर्देशक निर्देशिका भएकाले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चुस्तता आई समग्ररूपमा संस्थाको प्रशासनिक तथा वित्तीय अवस्थामा सकारात्मक प्रभाव पर्ने प्राधिकरणको अपेक्षा छ। कार्यसम्पादनको हरेक चार-चार महिनामा मूल्याङकन गरिने प्राधिकरणले जनाएको छ।अन्नपुर्णबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्