फौजी कीराको प्रकोप : सुनसरीका कृषकले समयअगावै धान काट्न थाले

फौजी कीराको प्रकोप : सुनसरीका कृषकले समयअगावै धान काट्न थाले

सुनसरी । धानबालीमा फौजी कीराको प्रकोप बढ्दै गएपछि सुनसरीको धरानका कृषकहरूले समयअगावै धान काट्न थालेका छन् । बाला लागिसकेको धानबाली थप मासिन नदिन कृषकहरूले समय अगावै काट्न थालेका हुन् । गत वैशाखदेखि देशका विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढ्दै गएको छ । फौजी कीराले धानको बालालाई नष्ट गर्ने गरेको छ । सुनसरीको धरान, बराहक्षेत्र, पकली लगायतका स्थानमा फौजी कीराको प्रकोप देखिए पछि धरानका कृषकहरूले भने समयअगावै धान काट्न थालेका हुन् ।

धान रोपेपछि एकैचोटि उठाउने बेलामा मात्रै हेर्ने गरेका कारण कीराको प्रकोपले धान नष्ट भएको थाहा नहुँदा समस्या आएको पानबारीका कृषक शुक्रबहादुर सम्बाम्फेले जानकारी दिए । उनले ५० प्रतिशतभन्दा बढी धान खेतमै नष्ट भएको बताए । उनले भने, ‘पाकिन्जेलसम्म ५० प्रतिशत होइन, ३० प्रतिशत पनि आउँदैन । २ कट्ठामा १० पाथी १५ पाथीभन्दा उठ्ने सम्भावना थिएन । मेरो वर्षभरि खान पुग्ने धान उब्जाउ हुन्थ्यो, यसपाली त सखापै भयो ।’ अन्य सागसब्जी लगाए जस्तै गरी धानबालीको हेरचाह गर्न नसक्दा कीराले खाइसकेपछि मात्रै थाहा भएको उनी बताउँछन् ।

धरानस्थित पानबारीमा करीब २० रोपनी क्षेत्रफलमा लगाएको बाली फौजी कीराले नष्ट गरेको छ । यता बराहक्षेत्र, पकली क्षेत्रका किसानहरूले भने विषादी छर्किएर धानबाली जोगाउन खोजिरहेका छन् । धानबाली नष्ट हुन थालेपछि कृषकहरूले स्थानीय सरकालाई गुहारेका छन् । समय अगावै धान काट्नुपर्ने बाध्यता भएको गुनासो आएपछि धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सहित कीरा वैज्ञानिकहरूको टोलीले प्रकोपग्रस्त क्षेत्र अनुगमन गरेको छ ।

धरानको पानबारीमा देखिएको फौजी कीरा ‘मिथिम्ना सेप्राटा’ प्रजातिको रैथाने फौजी कीरा रहेको कीरा वैज्ञानिकहरूको भनाइ छ । मौसम परिवर्तनका कारण रैथाने फौजी कीराको प्रकोप बढेको क्षेत्रीय कृषि अनुसन्धान कार्यालय इटहरीका कीरा वैज्ञानिक किशोर भण्डारीले बताए । ‘भदौदेखि कात्तिकसम्म रैथाने कीराले धान खान थाल्छन्, यस वर्ष भने पानी परेका कारण रैथाने फौजीहरू बढेको हो,’ उनले भने ।

स्थलगत अवलोकनपछि कार्यवाहक मेयर भण्डारीले किसानहरूलाई प्रकोपबारे र प्रकोपबाट अन्नबाली जोगाउने विषयमा विज्ञसहित जानकारीमूलक कार्यक्रम गर्न मातहतको आर्थिक विकास समितिलाई निर्देशन दिएकी छिन् । यस्तै, प्रकोप न्यूनीकरण गर्न विज्ञहरूको सुझाव अनुसार विषादी स्प्रे गर्ने लगायत कार्य तत्काल अघि बढाएर अन्नबाली जोगाउन पनि निर्देशन दिएको उनले बताइन् । यस्तै, क्षतिको यकिन विवरण संकलन गरेर राहतको लागि पनि आवश्यक पहल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्