‘सैन्य संरचनातर्फ विप्लव’, राप्तीका पाँच जिल्लाबाट १ करोड बढी चन्दा संकलन

‘सैन्य संरचनातर्फ विप्लव’, राप्तीका पाँच जिल्लाबाट १ करोड  बढी चन्दा संकलन

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ।

पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ। त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ। ‘बरामद दस्तावेज र निर्णय–पुस्तिकामा सैन्य शक्ति निर्माण गर्ने उल्लेख गरेको भेटिएको छ’, दाङका प्रहरी प्रवक्ता तथा डीएसपी विनोदविक्रम शाहले भने, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ। राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।’ उनीहरू असोज ३० गते बिहान १ बजे राजपुर–४ मगराइना गाउँबाट पक्राउ परेका थिए।

विप्लव नेतृत्वको नेकपाका २१ जना पक्राउ परेको राजापुर–४ मगराइना गाउँको एक घर। तस्बिर सौजन्य : शिबु खनालको फेसबुक

सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने योजना रहेको खुलेको छ। ‘खास गरेर प्रतिरक्षाका लागि यो संरचना तयार गर्दै रहेछन् भन्ने बुझिन्छ’, डीएसपी शाहले भने, ‘दस्तावेजमा सेनाको कुरा पटक–पटक उल्लेख गरिएको छ। सैन्य संरचनासँगै मंसिरसम्म चन्दा संकलन बढाउने योजना पनि फेला परेको छ।’

१ करोड चन्दा संकलन

उक्त पार्टीले साबिकको राप्ती अञ्चलका पाँच जिल्लाबाट १ करोड रुपैयाँभन्दा बढी चन्दा उठाएको भेटिएको छ। बरामद राजनीतिक दस्तावेजमा चन्दा संकलनबाट १ करोड रुपैयाँभन्दा बढी संकलन भएको र त्यो रकम पार्टीका कार्यक्रम तथा व्यवस्थापनमा खर्च भएको उल्लेख रहेको उनले बताए। आजको अन्नपुर्ण पोष्टले लेखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्